काठमाडौं । कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौंस्थित भारतीय दूतावासले न्यानो स्वागत गरेको छ ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काको उपस्थितिमा सरीन स्पोर्ट्सबाट खरिद गरिएका २० थान क्रिकेट ब्याटसहितका व्यावसायिक खेल सामग्री नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका हुन् ।
बीपी कोइराला इन्डिया–नेपाल फाउण्डेशन र भारत सरकारको सार्वजनिक क्षेत्रको संस्था एसजेभीएन लिमिटेडको तर्फबाट उक्त उपकरण हस्तान्तरण गरिएको हो । नेपाली क्रिकेट टोलीले राजदूतलाई नेपाली क्रिकेट टोलीको हस्ताक्षर भएको जर्सी पनि प्रदान गरेको छ ।
राजदूतले आफ्नो मन्तव्यमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विशेष गरी हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकोमा बधाई दिएका थिए ।
उनले हस्तान्तरणले भारत र नेपालबीचको जनस्तरको सम्बन्धमा नयाँ आयाम थपिने बताए । राजदूतले आगामी त्रिदेशीय टी–२० कप फाइनल र महिनाको अन्त्यमा सुरु हुने आईसीसी–टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि क्रिकेट टोलीलाई शुभकामना व्यक्त गरे ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, संघका सचिव पारस खड्का र क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले दूतावास, बीपी कोइराला इन्डिया–नेपाल फाउण्डेसन र एसभीजेएन लिमिटेडलाई हस्तान्तरण गरेकोमा प्रशंसा गरेका छन् । उक्त उपकरणले दूतावास र नेपाल क्रिकेट संघबीच सहकार्यको यात्राको सुरुवात गरेको हो ।
काठमाडौंस्थित भारतीय राजदूतावासले यसअघि २०१३ मा नेपाल क्रिकेट संघलाई बस उपलब्ध गराएको थियो र बी.पी. कोइराला भारत–नेपाल फाउन्डेसनले अप्रिल–मे २०२३ मा कोलकातामा हुने त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली बहिरा क्रिकेट टोलीलाई सहयोग गरेको थियो।




तपाईको प्रतिक्रिया