दिनेश ठाकुर, नेपालगन्ज । कसौधन वैश्य समाज बाँकेका पूर्व अध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले भेरी अस्पतालमा उपचार गराइरहेका घाइते र कुरुवालाई ३१ थान कम्बल र ३१ वटा तन्ना वितरण गरेका छन् ।
कम्बल र तन्ना वितरणका लागि वैश्यले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरेका छन् ।
जाजरकोट र रुकुमपश्चिममा आएको भूकम्पमा परी घाइते भई भेरी अस्पतालमा उपचाररत बिरामी र बिरामीका कुरुवालाई सहजता मिलोस् भनी सो कम्बल र तन्ना हस्तान्तरण गरिएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहेका वैश्यले बताए ।
उनले यो दुखद घडीमा सबैले मिलेर एकअर्काको सहयोग गर्नु प्रमुख धर्म भएको बताउँदै आवश्यक परे अरू पनि सहयोग गरिने जनाए । सोही प्रकारले अस्पतालमा रहेका घाइते र कुरुवालाई उनले आइतबार चिया बिस्कुट र केरालगायत गरेर बिहानको नास्ता पनि खुवाए ।
कम्बल र तन्ना लिँदै बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले सबैको सहयोग र समर्थन र दौडधुपले गर्दा घाइतेको उपचार समयमै गर्न सकिएको जनाउँदै भूकम्पपीडितको उपचार र अन्य सहयोगका लागि बाँकेवासीले देखाएको आत्मीयता सराहनीय रहेको बताए ।
उनले सुरक्षा निकाय, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, पत्रकार र अन्य नागरिकले दिएको सहयोग र हौसलाकै कारण यहाँ आएका सबै घाइतेको राम्रो उपचार हुँदा सबै सकुशल र खतरामुक्त रहेको बताए ।
राप्रपाका युवा नेता सहायक महामन्त्री ऋषिराज देवकोटा, नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ का वडाअध्यक्ष बिबेक वाजपेयी, राप्रपा बाके नेपालगञ्ज उपमहानगरपालिका वडा न ३ का एकाई अध्यक्ष अमन गुप्ता लगायतको सहभागिता रहेको थियोे ।
तपाईको प्रतिक्रिया