काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरेका छन् ।
आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा सोमबार बसेको पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अहिलेको सरकार विघटन गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने उनले बताए । अहिलेको व्यवस्था असफल भईसकेको बताउँदै उनले अन्तरिम सरकारको गठन गरी कार्यकारी राष्ट्रपतिको व्यवस्था लागु गर्नुपर्ने उनले बताए ।
‘देशलाई सही निकास दिनका लागि यो व्यवस्थाको खारेजी र अन्तरिम सरकार गठन नै हो । यो नहुँदा सम्म देशमा अस्थिरता र अन्योल कायमै रहन्छ’ आजपा अध्यक्ष साहले भने, ‘त्यसैले राजनीतिक अन्योलता र अस्थिरता हटाउँनका लागि हामीले जतिछिटो यो व्यवस्थाको खारेजी र अन्तरिम सरकार गठन गरी कार्यकारी राष्ट्रपतिको व्यवस्था नै त्यसको निकास हो ।’
दलियतन्त्र, तीन दलका तीन राजाको मनोमानीले राजनीतिक अस्थिरता, देश अहिले असफलताको बाटोमा गएको बताउँदै उनले आर्थिक समृद्धि र देशलाई सफलतातर्फ लैजानका लागि यो व्यवस्था खारेजीको बिकल्प नभएको ठोकुवा उनले गरे ।
आजपा अध्यक्ष साहले निर्वाचनको समयमा जनताका बीचमा गएर एउटा प्रतिबद्धता गर्ने र निर्वाचनपछि दलहरुले आफ्नो प्रतिबद्धता विपरित र मतदाताको चाहना विपरित काम गरेपछि जनताले चाहेमा ति दलबाट मत फिर्ता माग्ने अभियान पार्टीले सञ्चालन गर्ने बताए ।
‘आफ्नो सरकार बनाउँने भनेर लिएको मत एमालेले पछि गएर कांग्रेसको सरकार बनाउँन प्रयोग गर्ने । मधेसी दलले आफ्नो सरकार बनाउँन भन्ने र मतदाताको चाहना विपरित गएर अर्कैको सरकार बनाउँन उसको मत बेच्ने बेइमानी र धोखेवाजी काम गर्छ’ साहले भने, ‘मतदाताको चाहना र इच्छा विपरित उसको अनुमति विना नै दलहरुले हैकमवादी गर्ने, धोखा दिने, मत बेच्ने काम गरेपछि के मतदाताको मत ति दलले फिर्ता गर्नुपर्दैन ? हामीले मत फिर्ता अभियान चलाउँछौं । यदी वास्तवमा जनता मालिक हो भने उसको मत फिर्ता हुनुपर्छ ।’
यसैगरी नेपाली नागरिकत्ता परित्याग गरी विदेशी नागरिक भएका, अन्य देशको नागरिकत्ता लिईसकेका व्यक्तिको सम्पति खोजी गर्ने र राज्यलाई बुझाउँने कामको अभियान पार्टीले चलाउँने उनले बताए । आफ्ना छिमेकमा भएका त्यस्ता व्यक्तिको बारेमा र तिनको सम्पतीको बारेमा खोजी सुरु गर्न उनले आह्वान गर्दै त्यसबारेमा सरकार र आफ्नो पार्टीलाई सूचना दिन आग्रह गरे ।
यस्तै बेदेशिक रोजगारीमा भईरहेको ठगीको अन्त्यका लागि आजपाले संघर्षका थप कार्यक्रम ल्याउँने उनले बताए । शिक्षामा देखिएको निषेध, असमानता तथा सिण्डिकेटको अन्त्य, आम जनतालाई ऋण, कर्जा दिलाउँन तथा बैंकिंङ लुटका विरुद्धमा आजपाले संघषका बिभिन्न कार्यक्रम ल्याउँन लागेको साहले बताए ।
चिसो बढदै गईरहेकाले सितलहरीबाट हुने क्षति रोक्न पुर्वतयारीमा जुटनुपर्ने सरकारसंग आग्रह गर्दै आजपा अध्यक्ष साहले किसानलाई मलको व्यवस्था गर्नुपर्ने माग गरे । किसानको समस्या सम्बोधन गर्न सरकार असफल रहेको बताउँदै उनले किसानलाई विउँ, मल, पानी लगायतको व्यवस्था सरकारले गर्नुपर्ने बताए । सरकारले किसानको समस्या सम्बोधन नगरे आजपा पार्टी बाध्यभएर संघर्षमा उत्रिने चेतावनी उनले बताए ।
यसैगरी भुकम्प पीडितलाई राहत एवं पुनर्निमाणको व्यवस्था, लामो समयदेखी माईतीघरमा संघर्ष गर्दै आएको आरती साहको परिवारलाई न्याय दिनुपर्ने, गरिब दलितको आवासको व्यवस्था, विकास निर्माण, महंगी, भ्रष्टाचार नियन्त्रण लगायतका बिषयमा साहले सरकारको ध्यानाकर्षण गराएको आजपा महासचिव उपेन्द्र साहले बताए ।
यस्तै राष्ट्रको गौरव बनाउँने क्रिकेट, फुटवल लगायतका खेलाडीका लागि खेल्ने खेलमैदानको व्यवस्थाका साथै उनीहरुको सुरक्षाका लागि सरकारले उचित पहल नगरेको भन्दै सरकारको उनले आलोचना गरेका छन् ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको धारणा निर्माणका साथै देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने आजपा महासचिव साहले बताए ।
राज्यको नेतृत्वमा भगौडा वर्गको हालीमुहाली रहेको आरोप आजपाले लगाउँदै आएको छ । देश आर्थिक रुपमा क्रमशः जर्जर बन्दै गईरहेको जनाउँदै आजपाले साम्प्रादायिकताले नेपाली सामाजिक सम्बन्धहरू विथोलिंदै गएको जनाएको छ । सोहीबीच देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्था गम्भीर बन्दै गएको विषयमा पार्टीमा गम्भिर छलफल थालिएको छ ।
आजपाले यि सबै संकटको प्रमुख कारण भनेको नै विद्यमान शासन व्यवस्था र मुख्तयः दलतन्त्र रहेको जनाएको छ । ‘यसको विकल्प खोज्न जरूरी भैसकेको छ । यी र यस्ता संकटको समिक्षा तथा वर्तमान व्यवस्था र नेतृत्वको विकल्पबारे पार्टीको आधिकारिक धारणा तथा ठोस योजना निर्माणको आवश्यकता छ’ आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले भने ।
तपाईको प्रतिक्रिया