अर्थ मन्त्रालयसँग परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक सम्पन्न 

समाचार

काठमाडौं। काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकारको अर्थ मन्त्रालयले परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक गरेको छ।

भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गर्नुभएको थियो भने नेपाली टोलीको नेतृत्व नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नुभएको थियो ।

उक्त बैठकमा परियोजना कार्यान्वयनमा संलग्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधिका साथै भारतीय राजदूतावासका सम्बन्धित अधिकारी तथा कर्मचारीको सहभागीता रहेको थियो ।

विविध सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) का साथै अनुदान सहयोगमा भारत–नेपाल विकास सहकार्य ढाँचा अन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाबारे दुई पक्षबीच छलफल भएको थियो । बैठकमा भारत र नेपालबीच भविष्यमा हुनसक्ने सहकार्यका सम्भावित क्षेत्रहरुबारे पनि छलफल भएको थियो ।

बैठकमा राजदूत श्रीवास्तवले भारतको नेपालसँगको बलियो विकास सहकार्यबारे जानकारी गराउनुका साथै भविष्यमा नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार विकास सहकार्यमा नेपाललाई सघाउन र नेपाल सरकारसँग काम गर्न भारत सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

अर्थमन्त्री डा.महतले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नेपालको विकास प्रयासलाई अघि बढाउन भारत सरकारले खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्नुभयो । वहाँले अन्य सम्भावित क्षेत्रमा पनि यो सहयोगलाई थप अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

भारत नेपालको सबैभन्दा ठूलो र प्रमुख विकास साझेदार हो । सन् १९५१ मा सुरु भएको भारत–नेपाल विकास साझेदारी विगत सात दशकमा झनै फैलिएको छ र निरन्तरता पाएको छ ।

विकास साझेदारी अन्तर्गतका परियोजनाहरु भौगोलिक रुपमा नेपालभर फैलिएका छन् र आकार र क्षेत्रका हिसाबले अलग छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ