आफ्नै सेना गठन गरेर समानान्तर सरकार चलाउने अभियानमा प्रभु साह

समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गर्दै आएका आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अर्ध सैनिक बल निर्माणको अभियानमा जुटेका छन् ।

अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको बिकल्प नभएको बताउँदै आएका साहले अहिले दलतन्त्र भएकाले आम जनताको शासन हुनुपर्ने बताउँदै आएका छन् ।

सरकार र अहिलेका राजनीतिक दल तिनका नेताहरु आफूलाई नसच्याए र अन्तरिम सरकार गठन नभए साहले समानान्तर सरकार निर्माण गर्ने निष्कर्षमा समेत पुगेका छन् । त्यसैको पूर्व तयारी गर्दै साहले छुटै अर्ध सैनिक बल निर्माण गर्दै अगाडी बढन खोजेका हुन् ।

आजपा साहले तत्काल अन्तरिम सरकार गठन गर्नुपर्ने र मुलुकलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताउँदै भने, ‘ढिलो चाँडो हाम्रो माग पूरा हुन्छ । यही तरिकाले देश अगाडी बढन सक्दैन् । तत्काल यो व्यवस्था खारेजी हुनुपर्छ र अन्तरिम सरकार गठन हुनुपर्छ ।’
उनले अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरेका छन् । मुलुकमा ठूला दलका ठूला नेताहरुको हालीमुहाली र एकछत्र राज चल्दै आएको भन्दै यसरी मुलुक अघि बढ्न नसक्ने साहको टिप्पणी छ । उनले भने, ‘देशमा कहाँ लोकतन्त्र छ ? देश लोकतन्त्रको नाममा झन् झन बर्वादीको बाटोमा हिँडेको छ । अहिले लोकतन्त्रको नाममा दलतन्त्र हाबी भएको छ, र नेताहरुको लुटतन्त्र चलिरहेको छ । जनता जागरुक हुने बेला आइसकेको छ । त्यसैले हामीले यो व्यवस्थाले निकास दिँदैन भनेका छौं ।’
यही १४ पुसमा आजपा निकटको आईटी आर्मीको राष्ट्रिय भेला रौतहटको मौलापुरमा बोलाएको छ । एक हप्ता सम्म चल्ने सो भेलामा सहभागि हजारौं युवालाई सैन्य तालिम दिन लागिएको हो । देशैभरीबाट हजारौं युवा सहभागि सो भेलामा केही विशिष्ठ प्रशिक्षकलाई समेत सहभागि गराउँदै युवाहरुलाई एक हप्तासम्म तालिम दिन लागिएको हो ।

आजपा प्रवक्ता समेत रहेका आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले भेलाबाट नयाँ नेतृत्व चयनका साथै आईटी, प्रविधि, सामाजिक सञ्जाल लगायतको पहुँच एवं प्रयोगका साथै शारिरीक तालिमबारेमा समेत एक हप्तासम्म प्रशिक्षण दिने बताए । संगठनको सांगठनिक प्रतिवेदन समेत भेलामा प्रस्तुत गरिने उनले बताए । आवास सहितको हुने सो भेलाबाट दक्ष जनशक्ति निर्माण गर्दै अगाडी बढने उदेश्य रहेको साहले बताए ।

अर्ध सैनिक बल निर्माणको अभियानमा लागेका आजपा अध्यक्ष प्रभु साह भने आज काठमाडौंबाट मधेस झरेका छन्। साह एक हप्तासम्म मधेसमै रहने बताइएको छ । अहिले मौलापुरमा त्यसका लागि तयारी तिब्ररुपमा भईरहेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए ।

आजपाले आईटी आर्मीको पुस १४ गते हुने रौतटहको राष्ट्रिय भेलामा युवाहरुलाई शारिरीक तालिम प्रदान गर्नुको साथै सूचना तथा प्रविधिको पहँुच र उपयोगबारे पनि प्रशिक्षण गरिने केन्द्रीय सदस्य सापकोटाले जनाएका छन् ।
‘अहिले विज्ञान तथा प्रविधिको युग हो, हामी युवाहरुलाई यसको अधिकतम सही उपयोगको लागि संगठित रूपमा तालिम प्रदान गर्दैछौं । भ्रष्टाचारको विरुद्धमा हामीले यही संगठनमार्फत भण्डाफोर गर्नुका साथै जनतालाई सूसुचित गराउनेछौं । अब हामी देशलाई पूर्ण रुपमा डिजिटल बनाउनेगरि अघि बढेका छौं’ सापकोटाले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ