काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. एस जयशंकर काठमाडौं आइपुगेका छन् ।
उनी भारतबाट विशेष विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे ।
उनीले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग छुट्टै द्विपक्षीय भेटवार्ता गर्दै दुई देशको परराष्ट्र सम्बन्ध र सरकारको धारणा आदानप्रदानबारे छलफल गर्नेछन् ।
सोही अवसरमा संयुक्त आयोगको बैठकमा गरिने कार्यसूचीबारे उनीहरूले आफ्ना धारणा आदानप्रदान गर्नुहुने मन्त्रालयले जनाएको छ । मन्त्री साउदले भारतका विदेशमन्त्रीसहित सम्पूर्ण प्रतिनिधिमण्डलका लागि रात्रिभोजको आयोजना गर्नेछ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध आयामका साथै विकास साझेदारीको समीक्षा गरिने छ ।
प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार यो बैठकमा दुई देशबिच विद्युत् व्यापार दुईदेशीय तथा बङ्गलादेशसँग हुने समझदारीका लागि त्रिदेशीय समझदारीमा महत्त्वपूर्ण सहमति हुने छ । उनका अनुसार नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन परियोजनामा सम्झौता हुने छ ।
तपाईको प्रतिक्रिया