काठमाडौं । भारत सरकार ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (ऊर्जा) गोपाल प्रसाद सिग्देलको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त संचालक समितिको ११ औं बैठक चितवनमा सम्पन्न भएको छ ।
सो बैठक पौष १९ गते भारत र नेपालबीच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि बसेको हो ।
यसअघि पौष १८ गते भारत सरकार ऊर्जा मन्त्रालयका सहसचिव डा. डी साई बाबा र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव नवीन राज सिंहको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी ११ औं संयुक्त कार्यदलको बैठक काठमाडौंमा सम्पन्न भएको थियो ।
यी बैठकहरुमा ऊर्जा व्यापार, जलविद्युत परियोजना र प्रसारण लाइनको कार्यान्वयन, नेपाल र भारतबीचको द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्य लगायतका विषयमा विस्तृत समीक्षा भएको थियो । संयुक्त प्राविधिक टोली (जेटीटी) लगायत विभिन्न द्विपक्षीय समितिमा भएका प्रगतिबारे पनि छलफल भएको थियो ।
बैठकमा १३२ केभी र मुनिका प्रसारण लाइनमार्फत हुने अन्तरदेशीय ऊर्जा व्यापारका मोडालिटीलाई स्वीकृत गरिएको हो ।
भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीले पौष १९ गते विशेष महत्व रहेका तीनवटा नयाँ १३२ केभी प्रसारण लाइनको उद्घाटन गरे जसमा रक्सौल (बिहार, भारत)–परवानीपुर (नेपाल) को दोस्रो सर्किट, कटैया (बिहार, भारत)–कुशाहा (नेपाल) को दोस्रो सर्किट र नयाँ नौतनवा (उत्तर प्रदेश, भारत) –मैनहिया (नेपाल) रहेका छन् ।
करिब २०० मेगावाट प्रसारण क्षमता थप्ने यी प्रसारण लाइनले भारत र नेपालबीचको समग्र प्रसारण क्षमता १४०० मेगावाट पुर्याउनेछ । त्यस्तै, नयाँ नौतनवा –मैनहिया प्रसारण लाइन नेपाल र भारतको उत्तर प्रदेशबीचको पहिलो प्रसारण लाइन रहेको छ ।
नेपालका सम्माननीय प्रधानमन्त्रीको सन् २०२२ अप्रिलमा भएको भारत भ्रमणको दौरान जारी गरिएको भारत–नेपाल संयुक्त दृष्टिकोण पत्रमा प्रगति हासिल गर्दै दुवै पक्ष संयुक्त जलविकास समितिको पहिलो बैठक छिट्टै बोलाउन सहमत भएका छन् ।
संयुक्त संचालक समितिको बैठक हुनु अघि ऊर्जा सचिव श्री पंकज अग्रवालले माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री श्री शक्ति बहादुर बस्नेतसँग भेटवार्ता गरेका थिए ।
दुवै पक्षले यस विषयमा छलफल जारी राख्न सहमति जनाउँदै भारतीय पक्षले आयोजना गर्ने संयुक्त कार्यदल÷संयुक्त संचालक समिति बैठकको अर्को सत्रको लागि चाँडै भेट्ने निर्णय गरे ।
तपाईको प्रतिक्रिया