राकेश यादव, रौतहट । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा रौतहटको सदरमुकाम गौरमा भव्य शोभा यात्रा निकालिएको छ ।
भारतको आयोध्यामा नवनिर्मित राम मन्दिरको गर्भ गृहमा सोमबार रामललाको प्राण प्रतिष्ठा तथा गौर नगरपालिका वडा नम्बर ६ मा निर्माण भएको राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको अवसर पारेर हिन्दू परिषद्ले शोभा यात्राको आयोजना गरेको हो ।
राम मन्दिरबाट घोडा, उट, मोटरसाइकल, बाजागाजासहित निस्केको शोभा यात्रा गौर नगर परिक्रमा गरेको छ । शोभा यात्रामा सहभागी सनातनी धर्मावलम्बीहरू नाच्दै गाउँदै गरेको देखिएका थिए ।
भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा ठाउँ–ठाउँमा भजन, किर्तन, २४ घन्टे आष्ठ्याम सिताराम धुन भैरहेकोले निकै नै मनोरम वातावरण बनेको परिषदका रामशंकर यादवले बताएका छन् ।
विश्व हिन्दू परिषद्ले बेलुकी घर–घरमा तथा मठ मन्दिरमा दीप जलाएर भगवान रामको स्वागत गर्न आग्रह समेत गरेका थिए ।
भारत तथा नेपालका विभिन्न गाउँ, शहर, बजार, सार्वजनिक ठाउँ, मठ मन्दिरदेखि सामाजिक संजालसम्म राम आएङ्गे तो अंगना सजाउङ्गा भने गीत गुञ्जिरहेका थियो ।
नवनिर्मित मन्दिरमा स्थापना गरिएको भगवान राम, माता सीता, लक्ष्मण, भगवान शंकर र हनुमानको प्राण प्रतिष्ठा गरिएको पुजा समितिका अध्यक्ष उद्धव भट्टराईले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया