राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारको गलत नीतिका कारण संसारकै सम्भावनायुक्त भौगोलिक विविधता भएको देश नेपाल अल्पविकसित मुलुकको सूचीमा गएको बताएका छन् ।
मंगलबार राजविराजमा महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस प्राङ्गणमा निर्माण भएको इन्जिनियरिङ्ग कलेजको नबनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
करिब डेढ खर्ब रुपैयाँ वर्षेनी शिक्षा आर्जनको नाममा विदेश गईरहेको बताउँदै उनले भने ‘नेपालको शिक्षा तहसनहस भएको छ, विकसित देशको सूचीमा पुर्याउन शिक्षा, कृषि, उद्योग र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन जरुरी छ ।’
गुणस्तरीय शिक्षाकै दोस्रो विश्वयुद्धका क्रममा ध्वस्त भएको जापानले फड्को मारेको तथा छोटो समयमा सिङ्गापुर बदलिएको प्रसङ्ग चर्चा गर्दै जसपा अध्यक्ष यादवले ४० वर्ष अघि अविकसित देश चीनले संसारकै विकसित देशको रुपमा आफुलाई उभ्याउन सफल भएको बताए । उदारीकरण र निजीकरणका कारण औद्योगिक क्षेत्र वर्वाद हुँदै गएकोले यो क्षेत्रमा समेत व्यापक सुधारको आवश्यकता रहेको उनले टिप्पणी गरे ।
जसपाबाट रेणु कुमारी यादव भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रीको जिम्मेवारीमा रहँदा सप्तरी जिल्लामा मात्रै ४१ ओटा सडक योजनामा समावेश भएको तथा कामहरु समेत आगाडि बढेको उनले चर्चा गरे ।
राजविराजमा नर्सिङ्ग कलेज, ईन्जिनियरिङ्ग कलेज र गजेन्द्रनारायण सिंह अस्पतालमा ४ सय २० बेडको अत्याधुनिक पुर्वाधार समेत तयार भईसकेको बताउनुहुँदै अध्यक्ष यादवले भने ‘अब नर्सिङ्ग कलेज, ईन्जिनियरिङ्ग कलेजमा पठनपाठनको प्रक्रिया अगाडि बढाउनुपर्छ, रामराजा प्रसाद सिंह स्वास्थ्य प्रतिष्ठान निर्माणको समेत चाँडै अगाडि बढ्छ, अधुरा कामहरु पुरा गर्न हामी प्रतिवद्ध छौ ।’
जसपा नेतृ एवम् पूर्वमन्त्री रेणु कुमारी यादवले जनमत पार्टीतर्फ ईङ्गित गर्दै योगदानको कदर गर्न तथा सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरिन् । सप्तरीमा धेरै कामहरु गर्न बाँकी रहेकोले पूरा गरेर जस लिन आग्रह गर्दै उनले भनिन्, ‘मन्त्री माननीयले आफ्नो ओहदा त बुझ्नुपर्यो, राजविराजमा कन्या छात्रावासको काम पूरा गराएर जस लिन डा.साबलाई आग्रह छ, २०८४ मा १० लाख रोजगारी लगायतका झुठा आश्वासनको हिसाब जनताले लिनेछ ।’
प्रतिनिधिसभा सदस्य रञ्जु ठाकुरले विकासीय काममा अवरोध नगर्न आग्रह गर्दै एकआपसमा सहकार्य गरेर अगाडि बढ्न आह्वान गरिन् । कलेजमा सङ्काय थप्न तथा अधुरा कामहरु पुरा गराउन आफु प्रतिवद्ध रहेको उनले बताइन् ।
जनता समाजवादी पार्टीका प्रवक्ता एवम् प्रदेशसभा सदस्य मनिष कुमार सुमनले उपेन्द्र यादवको आगमनले सप्तरीमा विकासको मूल फुटेको बताए । ठोस एवम् परिणामुखि कामहरु गरेको चर्चा गर्दै उनले भने ‘खुद्रा काममा मा. उपेन्द्र यादवले बजेट लगाउनु भएन, अब यहाँका विद्यार्थीले डाक्टर, ईन्जिनियर.बन्न पाउने छन्, विदेश तथा देशकै ठूला सहर धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’
जनमत पार्टीले गैरराजनीतिक क्रियाकलापहरु गरिरहेकोप्रति प्रतिक्रिया जनाउँदै उनले धैर्यताको बाँध तोडने अवस्था आउन नदिन जिम्मेवार भएर प्रस्तुत हुन प्रवक्ता सुमनले चेतावनी दिए ।
जसपाका केन्द्रिय नेता एवम् मधेश प्रदेशका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहले क्याम्पस सप्तरीवासीको सम्पत्ती भएकोले यसको संरक्षण सबैको साझा दायित्व भएको बताए । विकासको काममा अवरोध नगर्न उनले आग्रह गर्दै भने, ‘उपेन्द्र यादवकै निर्देशनमा प्रदेश सरकारले थुप्रै कामहरू गरेका छन्, हामी सबै सकारात्मक सोचका साथ अगाडि बढ्नु आवश्यक छ ।’
महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजका प्रमुख प्रा. राजिव मिश्रले भवन निर्माणले ईन्जिनियरिङ्ग कलेज सञ्चालनका लागि पहिलो खुड्किलो पूरा गरेको बताए । बाँकी प्रक्रियासँगै पठनपाठन सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयबाट अनुमतिका लागि आफू अग्रसर रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष केदार यादव, नेकपा माओवादीका प्रतिनिधि जयनारायण मण्डल, नेकपा एमालेका प्रतिनिधि अखिलेश कुमार झा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रवण देव, प्रेस मञ्च सप्तरीका अध्यक्ष भूषण सिंह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जसपा अध्यक्ष यादव र राजविराज नगरपालिकाका कार्यवाहक मेयर ईशरत परबिनले नवनिर्मित भवन संयुक्त रुपमा महेन्द्र विन्देश्वरी बहुमखि कलेजका प्रमुख प्रा. राजिव मिश्रालाई हस्तान्तरण गरे ।
ईन्जिनियरिङ्ग कलेज निर्माण गर्न तत्कालिन सप्तरी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवको निर्वाचन क्षेत्र विकास कोषबाट ६ करोड, तत्कालिन सप्तरी ३ का प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीको निर्वाचन क्षेत्र विकास कोषबाट ५० लाख र अपुग रकम मधेश प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ उपलब्ध गराइएको नगरपालिकाका अधिकृत मनोज कुमार यादवले बताए । भवनभित्र ४ कक्षा कोठा, ल्याब कोठा ३, पुस्तकालय कोठा, क्याबिन, एडमिन हेड, रिसेप्सन र प्रतीक्षा कक्ष, शिक्षक कोठा रहेको ई. फिरोज आलमले जानकारी दिए ।
यसैगरी जसपा अध्यक्ष यादवले मङ्गलबारै विष्णुपुर गाउँपालिकामा निर्मित मुक्तिद्वार (शवदाहगृह)को समेत उद्घाटन गरेका छन् ।
तपाईको प्रतिक्रिया