सूचना लुकाउने कार्यालय प्रमुख बान्तवालाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आयोगको आदेश

समाचार

राजविराज । सूचना लुकाउने सप्तरीको कोशी पम्प चन्द्र नहर सिंचाई ब्यवस्थापन कार्यालयका कार्यालय प्रमुख प्रदिप बान्तवालाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ ।

पत्रकार सौरभ यादवले आयोगमा दिएको पुनरावेदनमाथि कार्यवाहक प्रमुख सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको माघ २५ गते बसेको संयुक्त इजलासले सो आदेश दिएको हो ।

पत्रकार यादवले आर्थिक वर्ष ०७९/०८० र हाल सम्ममा सम्पन्न भएका स्थान समेत उल्लेखित सबै योजनाहरुको आर्थिक सहितको भौतिक प्रगति विवरण र प्रक्रियाको आवश्यक कागजात,आर्थिक वर्ष ०७९/०८० र हाल सम्ममा कार्यालयमा खरिद गरिएको सरसमानको मूल्य उल्लेखित विवरण र खरिद गरिएको प्रक्रियाको आवश्यक कागजात ,आर्थिक वर्ष ०७९/०८० र हाल सम्ममा मर्मतमा खर्चिएको बजेट विवरण सहित प्रक्रियाको आवश्यक कागजात,आर्थिक वर्ष ०७९/०८० र हाल सम्ममा खर्चिएको कुल बजेट (योजनाको शिर्षकअनुसार)को विवरण,आर्थिक वर्ष ०७९/०८० र हाल सम्ममा इन्धन र सवारी मर्मतमा खर्चिएको बजेट विवरण सहित प्रक्रियाको आवश्यक कागजात,कार्यालयमा रहेको दरबन्दी र हाल कार्यरत रहेको कर्मचारीहरु (स्थायी, अस्थायी, करार र डोर हाजिर) को नाम र ठेगाना सहितको विवरण,आर्थिक वर्ष ०७९/०८० र हाल सम्म नहर मर्मतमा खर्चिएको बजेट विवरण सहित प्रक्रियाको आवश्यक कागजात,आर्थिक वर्ष ०७९/०८० र हाल सम्म गोश्वारा भौचरको कागजातका सूचना माग गरेका थिए ।

गत पुस १८ गते कार्यालयका सुचना अधिकारी एकराज भट्टराइसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै यादवले गत माघ १० गते कार्यालय प्रमुख प्रदिप बान्तवासँग सूचना मागेका थिए ।

तर, प्रमुख बान्तवाले पनि तोकिएको समयभित्र सूचना नदिएपछि पत्रकार यादवले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका थिए । पुनरावेदनपत्रका आधारमा आयोगले प्रमुख बान्तलाई दफा १० ९२० बमोजिम सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ