अख्तियार स्थापना दिवस : भ्रष्टाचार रोक्न सहकार्य जरुरी

समाचार

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले भ्रष्टाचार जस्तो विकृति रोक्न सबै सरोकारबालाहरुबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसमा आयोगद्वारा आइतबार जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुलुकमा विधिको शासन स्थापना गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले आमजनताले अनुभूति गर्ने गरी कार्यसम्पादन गर्न समेत उनले आयोगलाई आग्रह गरे ।

मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचारलाई क्यान्सरको संज्ञा दिँदै यसलाई रोक्न सबै एकजुट हुनुपर्ने आवश्यक्तामा जोड दिए ।

भ्रष्टाचार नियन्त्रण गर्ने प्रयोजनले नै आपूmहरुले सुशासन ऐन ल्याउन लागेको चर्चा गर्दै मुख्यमन्त्री यादवले घुस खानेभन्दा घुस खुवाउनेहरु पनि सचेत हुनुपर्छ भने ।

भ्रष्टाचार नियन्त्रणका लागि संचारकर्मीहरुसँग समेत सहयोगको अपील गर्दै उनले सही समाचार सम्प्रेषन गरिएको खण्डमा सोही समाचारको आधारमा भ्रष्टलाई कारबाही गरिने जानकारी दिए ।

कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचारको मुख्य कारक नेता र कर्मचारीलाई बताए ।

नेता र कर्मचारी इमान्दार भइदिएको खण्डमा भ्रष्टाचार आपैm नियन्त्रण हुने दावीसमेत उनले गरे ।

उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले भ्रष्टाचारविरुद्ध नैतिक शिक्षाको आवश्यक्ता औल्याए ।

सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेकाले कानूनभन्दा मांसिकता परिवर्तन गरेर अघि बढनुपर्नेमा उनले जोड दिए ।

मधेश प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले नियम कानूनको पालना गरेर जनताको अपेक्षा पूरा गर्न कर्मचारीहरुसँग आग्रह गरे ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले देशको विकास र समृद्धिको अवरोधको रुपमा रहेको भ्रष्टाचारलाई निवारण गर्ने मुख्य कर्तव्य सरकारको र कार्यालय प्रमुखहरुको रहेको बताएका थिए ।

सो अवसरमा माविस्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ