भ्रष्टाचार मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनालाई सफाई

समाचार

काठमाडौं । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनाविरुद्ध लागेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ दिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालीन सब–इन्जिनियर श्याम किशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याइ भ्रष्टचार गरेको सम्बन्धमा गत साउन १२ गते आरोपपत्र दायर गरेको थियो ।

उनीहरूले आर्थिक वर्ष २०७४/७५ पिपरा गाउँपालिका–१ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पिसिसी ढलान कार्यलाई बढी मूल्यांकन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई १ लाख ४८ हजार ९ सय १० रुपैयाँ भुक्तानी दिएको भनी मुद्दा दायर भएको थियो ।

आयोगले गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र तत्कालीन सब–इन्जिनियर मण्डलमाथि भ्रष्टाचार कसुरमा १ लाख ४८ हजार नौ सय १० रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको माग दाबी गरेको थियो ।

यस्तै निर्माण उपभोक्ता समितिका अध्यक्ष मिश्र, सचिव खातुन र कोषाध्यक्ष साहलाई १ लाख ४८ हजार ९ सय १० रुपैयाँ बिगोसहित सजायको माग दाबी गरेको थियो ।

उनीहरूविरुद्ध वडा–१ खैरबामा बाटो ढलानकार्य गर्दा कमसल सामग्री प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने आयोगमा उजुरी निवेदन परेको थियो ।

सो मुद्दामा विशेष अदालतले आरोप पत्रमा भनिएअनुसार अनियमितता वा भ्रष्टाचार नभएको भन्दै आइतबार पाँचै जनालाई सफाइ दिएको हो ।

भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झाले न्यायालयप्रतिको विश्वास झन् बढेको प्रतिक्रिया दिएकी छन् । उनले आफू देश र जनताप्रति दृढ रहेर काम गर्दै आएको बताइन् ।

मधेशवाणीसँग कुराकानी गर्दै झाले भनिन्, ‘अहिले पनि न्याय मरेको छैन । न्यायालयप्रति मेरो आस्था र विश्वास झन् बढेको छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ