महोत्तरी । नेकपा (माओवादी केन्द्र) परित्याग गरेका संविधान सभा सदस्य राम कुमार शर्मा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
जलेश्वरमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा शर्मालाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।
शर्मासँगै नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एमाले, लोसपा र जनमत पार्टीका सयौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई राष्ट्रिय अध्यक्ष यादवले गम्छा ओढाई पार्टीमा स्वागत गरेका थिए ।
नवप्रवेशीहरुमा माओवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका पूर्वसदस्य ईन्दु शर्मा, नेपाली काँग्रेस महासमिति सदस्य सुरेन्द्र चौधरी, एमाले नेतृ महोत्तरी गापा उपाध्यक्ष प्रत्याशी प्रमीला चौधरी, लोसपाका नेता एवं तत्कालीन राजपा युवाका केन्द्रीय अध्यक्ष रोशन सिंह राणा, तत्कालीन फोरमका युसुफ साफी, पुष्पज राज चमन, जनमतका नेता डा. सरोज ठाकुर सहितका रहेका छन् ।
तत्कालीन मधेशी जनाधिकार फोरम नेपालका महासचिव समेत रहिसकेका शर्मा र जसपा अध्यक्ष यादव बिच १५ बर्ष पछि पुनर्मिलन भएको हो ।
जसपा प्रवेशपछि संचारकर्मीहरुसँग कुरा गर्दै शर्माले १५ वर्ष पछिको पुनर्मिलनले मधेशमा पुनः नयाँ अध्याय शुरु हुने दावी गरे ।
उनले पार्टीले दिने जिम्मेवारी अनुसार आफू पुरानै जोश जागरका साथ संगठन निर्माणमा जुट्दै मधेश आन्दोलनका पुराना नेताहरुलाई पुनः एकताबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा जारी पार्टी प्रवेश कार्यक्रममा राजनीतिक समिति सदस्य हरिनारायण यादव, डा सुरेन्द्र यादव, प्रदेश अध्यक्ष बाल किशोर यादव, प्रदेश सरकारका मन्त्री सुरिता साह सहितका केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया