गृहिणी जो व्यवसायी बनिन्...

रञ्जन भण्डारी

समाचार

महोत्तरी । मटिहानी नगरपालिका ७ घर भएकि रागनी ठाकुरका श्रीमान उमेश ठाकुरले मटिहानी बजारमै कपाल काट्ने सैलुन खोलेका छन् । आमाबुवा, श्रीमति र तिन सन्तानको भरण पोषण उमेशले सोहि सैलुनको कमाईले गर्दै आएका छन् ।

तर सैलुनको कमाईले घरको सवै व्यवहार मिलाउन भने सहज छैन । श्रीमानले एक्लै घर व्यवहार चलाउनु परेको असहजतालाई सहज बनाउन रागनीले आफुले समेत अर्थ उपार्जन गर्नु पर्ने भन्दै युएसएआईडी लोकल वर्कस परियोजना महोत्तरी अन्तर्गत प्रकोप व्यवस्थापन अध्ययन केन्द्र मटिहानीले संचालन गरेको अगरबत्ति बनाउने तालिम लिइन् । तालिम पश्चात रागनी अगरबत्ति बनाउन पोख्त भैसकिन् र आफुले बनाएको अगरबत्ति बेच्न पनि सुरु गरिसकिन् । अगरबत्ति लिन अहिले छिमेकीहरु उनको घरमै आइपुग्छन् ।

हातले नै बनाउदा समय धेरै लाग्ने भएकोले उनले अपेक्षाकृत आर्जन गर्न सकेकि छैनन् तर पनि उनले बनाएको सवै अगरबत्ति सहजै बिक्ने गरेको बताउँछिन् । उनी अगरबत्ति बनाउने मेसिन उपलब्ध हुन सके घरमै हाल सिमित रहेको अगरबत्तिको व्यापारलाई बजारसम्म पुर्याउन सक्ने बताइन् ।

यता मटिहानी ७ कै मरनी देवी सहनीको घरको आर्थिक अवस्था पनि रागनी भन्दा राम्रो छैन । उनलाई समेत श्रीमानले नै आर्जन गरेको पैसाले घरव्यवहार मिलाउनु पर्दा समस्या थियो । तर सोहि संस्थाले संचालन गरेको चुडी बनाउने तालिम पछि उनी घरमै विभिन्न कलात्मक चुडी बनाउन पोख्त भएकि छिन् ।

रागनी र मरनी देवी दुवैले तालिम पश्चात संस्थाबाट बिउ पुँजीको रुपमा १५ हजारको दरले रकम समेत पाएकि थिइन् । सोहि पैसाले दुवैजनाले अगरबत्ति र चुडी बनाउन आवश्यक सामग्री खरिद गरि आफ्नो व्यवसाय बढाउन लागिपरेकी छन् । उनीहरु घरमा आर्थिक रुपले थोरै रकम आर्जन हुन थालेपछि यसलाई निरन्तरता दिने बताउछिन । घरेलु उद्योग जस्तो चलाएर घरको आर्थिक अवस्था सुधार गर्न सकिए व्यवसायलाई निरन्तरता दिनु नै उपयुक्त हुने उनीहरुको भनाई छ ।

रागनी भन्छिन, ‘सैलुनमा उहाको आम्दानी तोकिएको हुदैन । कुनै दिन ग्राहक भए राम्रै पैसा हुन्छ भने कुनै दिन रित्तो हात फर्कनु हुन्छ । अहिले मैले बेचेको अगरबत्तिले भने घरमा रासनपानी चलाउन सहज भएको छ । उहा पनि मैले काम गरेको देख्दा खुशी हुनु भएको छ ।’

यता मरनी देवीलाई उनको जेठी छोरीले समेत काममा सहयोग गर्न थालेकी छिन् । पैसाकै कारण पढाई निरन्तरता दिन समस्या भएकोमा आमासंगै काम गर्दा आफ्नो अध्ययनमा केहि सहज हुने भन्दै आमालाई चुडी बनाउन उनी सघाउन थालेकी हुन् । घरमै समेत ग्राहक आउने र बजारमै समेत चुडी बिक्री गर्ने गरेको मरनीको भनाई छ । उनी थप्छिन,‘ पुँजी अझै भए व्यापारलाई अरु बढाउन सकिने भएपनि तत्काल जे छ त्यसमै राम्रो गर्ने प्रयास गर्दैछु । आशा छ मेरो पनि योगदानले घरको आर्थिक अवस्था सुध्रदै जानेछ ।

यि दुई उदाहरणिय पात्र मात्र हुन । मटिहानी नगरपालिकाको वडा नं. १,७ र ९ का ३२७ जना महिला र पुरुषले विगत दुई वर्षको अवधीमा प्रकोप व्यवस्थापन अध्ययन केन्द्रको सहयोगमा बगर खेती तालिम,कुखुरा पालन तालिम, करेसावारी तालिम, च्याउ खेती, नर्सरी खेती, खनिज ढिक्का बनाउने तालिम, मोटरसाईकल मर्मत तालिम, इलेक्ट्रिसियन तालिम, तयारी खाना बनाउने तालिम, बाँसको सामग्री तथा अगरबत्ति बनाउने तालिम, मास्क बनाउने तालिम मोबाईल मर्मत तालिम र लाहचुरा बनाउने तालिम प्राप्त गरिसकेका छन् भने सोहि मध्ये अधिकांशले ६ हजार र १५ हजारको दरले बिउ पुँजी समेत पाई व्यवसाय सुरु गरिसकेका छन् । तालिम लिएका अधिकांश तालिम लिएकै व्यवसाय गरेर आर्थिक आर्जन गर्दै आएका छन् ।

पालिका व्यावसायिक रुपमा सवल हुँदैछ : हरि प्रसाद मण्डल, नगरप्रमुख मटिहानी

यता मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले पालिका भित्रका विभिन्न गृहिनीहरु र वेरोजगार युवाहरु तालिम पछि दक्ष भई व्यवसायमा लाग्नु पालिकाको लागि सुखद पक्ष रहेको बताउँछन् । उनी पालिकाले समेत नियमित रुपमा विभिन्न दक्षता अभिवृद्धि लगायतका कार्यक्रमहरु संचालन गरिरहेको बताउदै संघ संस्थाहरुबाट समेत यसमा थप मद्दत पुगेपछि पालिकामा दक्ष जनशक्ति उत्पादनमा वृद्धि भएको बताउँछन् ।

मटिहानी नगरपालिका व्यावसायिक दृष्टिकोणले समेत सम्भावना बोकेको पालिका भएकोले दक्ष जनशक्तिले पालिकाको विकासमा थप बल पुग्ने उनको भनाई छ । गृहिणीका साथै रोजगारी नभएका युवा युवतीहरु दक्ष भए उनले परिवार चलाउन कसैको मुख ताक्नु पर्ने आवश्यक्ता नहुने नगरप्रमुख मण्डलको भनाई छ । उनले आफ्नो नागरिकहरुको आयआर्जनमा पालिकाको तर्फबाट हुन सक्ने हरसम्भव कार्यहरु गर्न पालिका पछाडी नपर्ने थपे ।

जोखिममा परेका परिवारलाई दक्ष बनाउन पाउदा सफल भएको अनुभुति भएको छ : राजेश राई, कार्यक्रम व्यवस्थापक

विगत दुई वर्षको अन्तरालमा मटिहानीको तिनवटै वडाका सयौ जोखिमा रहेका समुदाय, घरधुरी र व्यक्तिहरुलाई उनले रुचाएका विषयको तालिम प्रदान गरि उनीहरुलाई दक्ष बनाउदै केहि बिउ पुँजी समेत प्रदान गरेर सोहि तालिम लिएको कार्यमा उनीहरु लागेर आयआर्जन गर्न सक्नु आफ्नो कार्यक्रमको ठुलो उपलब्धी रहेको युएसएआइडी लोकल वर्कस महोत्तरी परियोजनाका कार्यक्रम व्यवस्थापक राजेश राई बताउँछन् ।

उनले अधिकांश स्थानमा तालिम पश्चात तालिम लिएकाहरुले सोहि काम नगर्ने र तालिम व्यर्थ जाने देखिएकोमा मटिहानीमा संचालन गरिएको विभिन्न तालिममा तालिम प्राप्त व्यक्तिहरुले त्यसलाई आफ्नो जिवन निर्वहण प्रयोगमा ल्याउन सकेको र गृहिनी तथा वेरोजगारीको अवस्थाबाट रोजगारीको अवस्थामा पुगेकोमा खुशी लागेको बताउँछन् ।

उनले दक्षताका साथै संस्थाले ३३ महिला स्वयम सेविका र २७ आमा समुहलाई सरसफाई र महिनावारी सम्बन्धी तालिम प्रदान गरिसकेको छ भने जोखिम न्युनिकरण कार्यशाला दिगो तथा न्युनतम खर्च प्रविधीबारे कृषिमा आधारित किसानका लागि क्षमता अभिवृद्धि तालिम समेत प्रदान गरेको बताए । यता विपद जोखिम न्युनिकिरणको लागि विभिन्न कार्यशाला र अभिमुखिकरण तालिमको माध्यमले समुदायमा जनचेतना फैलाउने कार्य समेत भएको उनले थपे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ