उपराष्ट्रपति यादव र भियतनामका राजदूत हाईबीच शिष्टाचार भेट

समाचार

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाईले शिष्टाचार भेट गरेका छन् ।

उपराष्ट्रपति यादवसँग राजदूत हाईले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेट गरेका हुन् । भेटमा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध तथा व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयका प्रेस संयोजक दिनेश यादवले जनाएका छन् ।

उपराष्ट्रपति यादवले काठमाडौंमा भएको लगानी सम्मेलनमा भियतनामको सहभागिताले भविष्यमा त्यहाँबाट नेपालमा लगानी भित्र्याउन पहल हुने विश्वास व्यक्त गरेका थिए ।

‘सन् १९७५ मा द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै नेपाल र भियतनामबीच मित्रता, सौहार्दता, सद्भाव र आपसी समझदारीमा आधारित उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहीआएको छ’ उनले भने, ‘बुद्ध धर्मले दुई देशहरुबीच जनस्तरको सम्पर्कहरूलाई अझ बलियो बनाएको छ ।’

उपराष्ट्रपति यादवले दुई मुलुक नेपाल र भियतनामले संयुक्त राष्ट्र संघ लगायतका बहुपक्षीय फोरममा समान विचार राख्ने, एकअर्कालाई सहयोग गर्दै आएको बताए । उनले भने, ‘दुई मुलुकका परराष्ट्र मन्त्रालयहरूबीच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) मार्फत पारस्परिक हितका क्षेत्रमा नियमित परामर्शको लागि मार्ग प्रशस्त गर्नेछ । ’

उनले नेपाल र भियतनामबीच २० अक्टोबर २०१५ मा हवाई सेवा सम्झौता भएको जानकारीमा रहेको उल्लेख गर्दै भविष्यमा काठमाडौं/लुम्बिनी र हानोई बीच सीधा उडान हुने आशा व्यक्त गरे ।

‘सन् २०२६ सम्ममा ‘एलडीसी’ बाट सहज, दिगो र अपरिवर्तनीय स्तरोन्नति गर्नुका साथै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गरी मध्यम आय भएको मुलुक बन्ने नेपालको मुख्य प्राथमिकतामा छ’ उपराष्ट्रपति यादवले भने, ‘नेपाल कृषि, पर्यटन, उत्पादन र जलविद्युत क्षेत्रमा विशेष जोड दिएर देशको सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित रहेको छ र यी क्षेत्रमा भियतनामबाट लगानीका लागि आह्वान गर्न चाहन्छु ।’

उनले विशेष गरी दुई देशबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरण मार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ सुदृढ पार्ने ठूलो अवसर रहेको उल्लेख गर्दै भने, ‘थप बीटूबी सम्बन्धहरू, उद्यमीहरू र व्यापारीहरूको आदानप्रदान, ट्रेड शो/प्रदर्शनीमा सहभागिता, लगायत अन्य क्रियाकलापले आर्थिक सम्बन्धलाई अभिवृद्धि गर्ने विश्वास लिएको छु ।’

उपराष्ट्रपति यादवले हाम्रा दुई देशबीचको सांस्कृतिक आदानप्रदानले उत्कृष्ट सहकार्यको लागि समझदारी विकास गर्न मद्दत पुगेको बताए ।

‘दुई देशका जनताहरु बीचको सम्बन्ध थप प्रगाढ बनाउन साझा धार्मिक तथा सास्कृतिक सम्बन्ध एउटा महत्वपूर्ण माध्यम हुन सक्दछन्’ उनले अगाडि भने, ‘बुद्धको जन्मस्थल लुम्बिनी अधिकांश भियतनामीहरूका लागि महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य रहेकोले दुई देशबीचको पर्यटन क्षेत्रमा अझ बढी सहकार्यको सम्भावनाहरु छन् ।’

भियतनामका राजदूत गुएन थान हाईले नेपाल र भियतनामबीचको सम्बन्धलाई थप सुदृद्ध र प्रगाढ बनाउन आफूले सक्दो प्रयास गर्ने उल्लेख गर्दै दुई मुलुकबीच सीधा हवाई उडान स्थापनाको गृहकार्य भईरहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ