मधेश प्रदेशमा अब कसको नेतृत्वमा सरकार बन्ला ?

समाचार

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार संकटमा परेको छ ।

मधेश प्रदेशसभाका सबभन्दा ठूलो दल एमाले नेतृत्वमा सरकार बनाउने भित्री गृहकार्य भइरहेको एमालेका एक नेताले बताए । तर, नेतृत्वका लागि माओवादी केन्द्र, जनमत पार्टी, लोसपाले समेत दाबी गर्दै आइरहेको छ ।

जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि अहिले सरकार गठन चुनौतीपूर्ण बनेको छ ।

जसपाले आफ्नो नेतृत्वमा रहेको सरकारको निरन्तरताका लागि विभिन्न दलसँग संवाद गरिरहेको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि सरकार जोगाउन जसपाले अन्य दलसँग संवाद तीव्र बनाएको छ ।

एमाले र माओवादी पनि आआफ्नो नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलसँग साथ र समर्थन मागिरहेका छन् ।

विगतदेखि नै सङ्घीय सरकारभन्दा मधेश प्रदेश सरकारलाई प्राथमिकतामा राख्ने गरेको जसपाले सङ्घीय सरकारबाट बाहिरिएलगत्तै अन्य दलसँग संवाद सुरु गरिसकेको छ ।

सरकारलाई समर्थन गरिरहेको नेकपा (एकीकृत समाजवादी) लाई साथमै राख्ने र सरकारबाहिर रहेका नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टीलगायतलाई सरकारमा ल्याउन जसपाले पहल गरिरहेको छ ।

मधेश प्रदेशसभामा जसपाका १९ र नेकपा एकीकृत समाजवादीको सात सांसद छन् । जसपा नेपालको नेतृत्वमा सरकार टिकाउन अझै २८ मत आवश्यक हुन्छ । जसपाले २२ मत रहेको नेपाली कांग्रेसको साथ खोजिरहेको छ तर काँग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ ।

मधेश प्रदेशमा एमालेको २५, कांग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको नौ/नौ, नेकपा एकीकृत समाजवादीको सात र नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक सांसद छन् ।

माओवादी केन्द्र र एमालेले पनि सरकार बनाउन पहल सुरु गरेका छन् । यी दुई दलले पनि जसपा नेपालबाहेक अन्य सबै दलसँग कुराकानी गरिरहेका छन् । एमाले र माओवादीसँग जम्मा ३२ सिट छ ।

सरकार बनाउन यो पक्षलाई थप २२ सिटको आवश्यकता छ । एमालेसहितको पक्षले जनमत पार्टीले जसपा नेपाल इतर सरकार गठनका लागि सहयोग गर्ने अपेक्षा गरिरहेको छ ।

जनमत पनि सरकार गठनका लागि उपयुक्त अवसरको पर्खाइमा छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ