भारतद्वारा दाङ जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

समाचार

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. १.७६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको दाङको लमही नगरपालिकास्थित श्री बाल जनता माध्यमिक विद्यालयकोे विद्यालय भवनको उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न बहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. २.८७ करोड आर्थिक सहयोगमा निर्माण गरिएको दाङको घोराही उप–महानगरपालिकास्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय भवनको पनि उद्घाटन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग लमही नगरपालिकास्थित श्री बाल जनता माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, प्रयोगशाला उपकरण, फर्निचर र दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।

त्यसैगरी भारत सरकारको आर्थिक सहयोग दाङको घोराही उप–महानगरपालिकास्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, दाङमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख, दाङका उप–महानगरपालिकाका मेयर र लमही नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।

दाङस्थित श्री बाल जनता माध्यमिक विद्यालय र श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउनेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन् जसमा ६ वटा परियोजना दाङमा छन् ।

यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये लुम्बिनी प्रदेशलाई १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १९ वटा एम्बुलेन्स र ५वटा स्कुल बस दाङ जिल्लालाई उपलब्ध गराइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यी परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ