काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावमाथि बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव अस्वीकृत भएको जानकारी गराए ।
मतदानमा कुल दुई सय ५८ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसदको गरी जम्मा ६३ मत परेको थियो ।
यसैगरी, विपक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, लोसपा, जनमतलगायत दलका गरी एक सय ९४ मत खसेको थियो । मतदानमा एक सदस्य तटस्थ रहेका थिए ।
प्रधानमन्त्रीको विश्वासको मत अस्वीकृत भएसँगै संविधानबमोजिम नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि एमालेसहितका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड संसद्को आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया