‘समानुपातिक प्रणालीलाई समाप्त गर्ने प्रपञ्च’

समाचार

काठमाडौं । मधेशी अभियन्ता एवं अध्येता तुलानारायण साहले समानुपातिक निर्वाचन प्रणालीको कारणले राजनीतिक अस्थिरता नआएको बताएका छन् । उनले यस प्रणालीले खसआर्यको प्रतिनिधित्व घटाएकोले यसलाई हटाउन खोजिएको बताएका हुन् ।

समानुपातिक प्रणालीलाई समाप्त गर्ने प्रपञ्च गरिएको वा यस प्रणालीलाई राष्ट्रिय सभामा लग्ने तयारी गरिएको हुन सक्ने साहको अनुमान थियो ।

साहले अगाडि थपे, ‘यसले मधेशी, जनजाति, दलित र महिलालगायतका सीमान्तकृतको प्रतिनिधित्व घटने छ । खस आर्यको प्रतिनिधित्व फेरि मजबुत हुने छ । यसरी राजनीतिक सत्ताको नियन्त्रणमा खसआर्यको पकड अझै बलियो हुने छ ।’

थारु र मुस्लिमसहित ३३ प्रतिशत मधेशी समुदायको राजनीतिक प्रतिनिधित्व एवं हैसियत कसरी घट्यो तथा खसआर्य समुदायको राज्यसत्तामा प्रभुत्व कसरी बढ्यो भन्ने अध्ययनको विषय रहेको उनको भनाइ थियो ।

‘नागरिकता समस्या अहिले पनि समाधान भएको छैन । भाषासम्बन्धी माग, जिल्लाहरुको विभाजन, निर्वाचन प्रक्रिया र लोक सेवा आयोगको निर्माण, प्रशासनमा भर्ना प्रक्रिया तथा भूमिसुधारमार्फत् कसरी मधेशीहरुको जमिन खोसियो एवं शिक्षा नीतिको विषयमा ऐतिहासिक अध्ययन नगरेसम्म मधेशी कसरी मुलुकमा सीमान्तकृत भयो भन्ने बुझ्न सकिँदैन,’ साहको तर्क थियो ।

असार १७ गते संविधान संशोधनको विषयमा सहमति भएको तर त्यो सार्वजनिक नगरिएको बताउँदै उनले समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमति काँग्रेसको पार्टी बैठकमा पढेर सुनाइएको जानकारी दिए ।

उनले समानुपातिक निर्वाचन प्रणाली लागु भएपछि मुलुकमा राजनीतिक स्थिरता नभएको भन्ने भाष्य गलत रहेको बताए ।

राजनीतिक निकायमा सीमान्तकृत समुदायलाई समानुपातिक सहभागिताका लागि समानुपातिक निर्वाचन प्रणाली अपनाइएको उनको भनाइ थियो ।

‘बि.स. २०६४ सालमा ६० प्रतिशत अप्रत्यक्ष रुपमा निर्वाचित भएर आउने समानुपातिक निर्वाचन प्रणालीलाई घटाएर नयाँ संविधानमार्फत् ४० प्रतिशतमा झारियो । अहिले खस आर्यको प्रतिनिधित्व बढेर ५० प्रतिशतको हाराहारीमा पुगेको छ,’ उनले जानकारी दिए ।

साहले भपे, ‘बि.सं २०१५ सालमा कांग्रेसको दुईतिहाइ बहुमत थियो । तर राजनीतिक स्थीरता भएन । पञ्चायती व्यवस्थामा पनि कुनै सरकार पाँच वर्ष टिक्न सकेन । बि.सं २०१५ सालदेखि बि.स. २०४७ र २०५६ सालमा पनि कांग्रेसकै बहुमत हुँदा समेत राजनीतिक स्थिरता भएन ।’

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत् बि.स. २०७४ मा एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लड्दा र लगभग दुई तिहाइ बहुमत ल्याउँदा समेत मुलुकमा राजनीतिक स्थीरता नभएको जिकीर गर्दै उहाँले राजनीतिक अस्थिरताका लागि समानुपातिक प्रणालीलाई दोष दिन नसकिने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ