काठमाडौं । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख ई.दीपक कुमार साहले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई तत्कालै पर्सोना नन ग्राटा घोषणा गर्नुपर्ने माग गरेका छन् ।
बारम्बार कूटनीतिक मर्यादाविपरीत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएका भन्दै उपाध्यक्ष साहले चिनियाँ राजदूत सोङलाई तत्कालै पर्सोना नन ग्राटा घोषणा गर्नुपर्ने माग सामाजिक सञ्जालमार्फत गरेका हुन् ।
जनमतका उपाध्यक्ष ई.साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालको हरेक सुखदुःखमा सधैं सहयोग र सद्भाव राख्ने मित्रराष्ट्र भारतप्रति कटाक्ष गर्ने चिनियाँ रणनीतिलाई सम्बन्धित सरोकारवालाले समयमै बुझ्नुपर्दछ। चिनियाँ राजदूत सोङलाई नेपालमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पठाइएको स्पष्ट देखिन्छ।’
उनले कुनै पनि राजदूतले आफ्नो कूटनीतिक मर्यादाको ख्याल नगरी अर्को देशको आन्तरिक मामिलामाथि खुलेआम टिप्पणी र आलोचना गर्न नपाउने बताउँदै भनेका छन्, ‘राजदूत सोङको भूमिका नेपाल र नेपालीविरुद्ध देखिएकाले, सरकारले उनलाई तत्कालै पर्सोना नन ग्राटा घोषणा गरेर नेपाल छोड्न निर्देशन दिनुपर्दछ। यसअघि पनि उनले नेपालका एक प्रतिष्ठित सञ्चारकर्मीलाई धम्की दिएका थिए, जुन अस्वीकार्य छ।’
‘कुनै पनि देशको राजदूतले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नेपालको सार्वभौमसत्ता विरुद्ध हो र नेपाली जनताले यस्तो हस्तक्षेप सहन सक्दैनन्।’ उपाध्यक्ष साहले भने ।
तपाईको प्रतिक्रिया