सिरहा, १९ भाद्र । सिरहाको चोहर्वास्थित वन क्षेत्रका घर तोडफोड गरिएको भन्दै पीडितहरूले प्रदर्शन गरेका छन् । उनीहरूले मंगलबार साँझ चोहर्वामा प्रदर्शन गरेका हुन् ।
उनीहरूले पूर्वडीएफओ सुजीतकुमार झाले मनोमानी गरी आफूहरूलाई घरबारविहीन बनाएको आरोप लगाएका छन् । उनीहरूले पूर्वडीएफओविरुद्ध नाराबाजी पनि गरेका थिए । पैसा दिनेहरूको घर जोगाएको र नदिनेहरूको घरमा डोजर लगाइएको समेत उनीहरूले आरोप लगाएका छन् ।
सिरहाको नरहा गाउँपालिका–३ स्थित जोवहा प्राकृतिक सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर टहरा गत साउन १२ गते डिभिजन वन कार्यालय लहानले भत्काइदिएको थियो । अतिक्रमित जग्गा खाली गराइएपछि पूर्वडीएफओ झा र मधेश सरकारका वनमन्त्री त्रिभुवन साहको प्रशंसा भएको थियो । तर, त्यसको केही दिनपछि नै झालाई प्रदेश सरकारले सरुवा गरिदिएको थियो ।
वन अतिक्रमणकारी तथा तस्कारलाई जोगाउन झालाई सर्लाहीस्थित वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा सरुवा गरिएको पनि मधेश सरकारमाथि आरोप लाग्दै आएको छ ।
तपाईको प्रतिक्रिया