सुत्केरी गराउन गएकी महिलाको मृत्यु, स्थानीयद्वारा प्रदर्शन

समाचार

राकेश यादव, रौतहट । जिल्लाको गरुडा नगरपालिकाअन्तर्गत शिवनगरमा सञ्चालन रहेको बर्थिंग सेन्टरका चिकित्सकको लापरवाहीले गर्दा सुत्केरी महिलाको मृत्यु भएको भन्दै आफन्तहरुले प्रदर्शन गरेका छन् ।

डाक्टरको लापरवाहीले गर्दा अत्यधिक रक्तश्राब हुँदा सुत्केरी महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले गौर चन्द्रनिगाहपुर सडकखण्डको शिवनगरमा मृतकको शव राखेर चिकित्सक माथि कार्यवाही गर्नु पर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

गरुडा नगरपालिका वडा नम्बर ५ मा रहेको महम्मदपुर स्वास्थ्य चौकीमा सुत्केरी व्यथा लागेपछि गएका स्थानीय अरविन्द कुमार साह सोनारको २२ वर्षीय पत्नी रमिता देवी साहको मृत्यु भएको हो ।

स्वास्थ्य चौकीमा बच्चाको जन्म भएपछि बढ़ी रक्तस्राब हुन लाग्दा बीरगंज रेफर गरिएकी रमिताको इन्डो नेपाल अस्पतालमा पुग्दा चिकित्सकले मृत घोषणा गरेको थियो । रमिताले जन्म दिएकी शिशु स्वास्थ्य रहेको बुझिएको छ ।

स्वास्थ्य चौकीमा कार्यरत चिकित्सकले असावधानीपूर्वक शल्यक्रिया गर्दा सुत्केरी महिलाको ज्यान गएको परिवारको दावी रहेको छ । मृतकका पति अरविन्द साहले चिकित्सकको लापरवाहीको कारण श्रीमतीको मृत्यु भएकोले दोषी चिकित्सक माथि कÞानूनी कार्यवाही हुनु पर्ने माग गरेका छन् ।

घटनापछि आक्रोशित बनेका स्थानीयहरुले सड़कमा टायर बालेर स्थानीय प्रशासन र जनप्रतिनिधिको बिरुद्ध चर्को नारावाजी गरेका थिए । प्रदर्शनकारीले दोस्रो घटना रहेकोले चिकित्सक माथि कार्यवाही गरी पीडि़त परिवारलाइ क्षतिपूर्ति दिनु पर्ने माग राखेका छन् ।

आक्रोशित स्थानीयले बर्थिंग सेन्टरमा तोडफोड समेत गरेको बुझिएको छ । मृतकको शव गरुडा नगरपालिकाका मेयर कान्थमणि कलवारको घर अगाडी राखेर प्रदर्शन गर्न खोज्दा प्रहरीले अवरोध गरेपछि शिवनगर चोकमा शव राखेर दिनभरि प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण यातायात बाधित समेत भएको थियो ।

गएको ३ भदौमा सोही बर्थिंग सेन्टरमा सुत्केरी गराउन गएकी रमेश कुमार साहनीको २१ वर्षीय श्रीमती शर्मीला कुमारी सहनीको मृत्यु भएको थियो । नगरपालिकाले दक्ष अनुभवी चिकित्सकको व्यवस्थापन नगरेको कारण सुत्केरी गराउने जाने महिलाको अकालमै ज्यान जाने गरेको स्थानीयहरुको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ