काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
भेटमा शुभकामना आदान प्रदान पश्चात द्विपक्षीय सम्बन्ध, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटन लगायतका विषयमा महत्वपूर्ण छलफल भएको हो ।
‘सन् १९५८ मा दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र संघीय गणतन्त्र जर्मनीबीच कायम रही आएको मैत्रीपूर्ण सम्बन्ध प्रति खुशी व्यक्त गर्दछु ’ उनले भने, ‘मित्रता, सौहार्दता र सहयोगमा आधारित संघीय गणतन्त्र जर्मनीसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको छ । आगामी वर्षहरूमा यी सम्बन्धहरू अझ सुदृढ हुँदै जानेमा म विश्वस्त छु ।’
उपराष्ट्रपति यादवले उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–जर्मनी सम्बन्धका आधार स्तम्भ भएको बताए ।
‘संघीय गणतन्त्र जर्मनी नेपालको प्रमुख विकास साझेदार हो’ उनले भने, ‘नेपालले सामाजिक आर्थिक विकासका सबालमा सन् १९६१ देखि सहायता प्राप्त गर्दै आएको छ ।’ उनले दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालको विकास पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा आशावादी रहेको बताए ।
‘जर्मनीले बहुपक्षीय मञ्चहरुमा अन्तर्राष्ट्रिय मुद्दा जस्तै जलवायु परिवर्तनको क्षेत्रमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाको नेपाल प्रशंसा गर्दछ’ उपराष्ट्रपति यादवले भने, ‘आपसी हितका विषयहरुमा दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा हामी आशावादी छौं ।’
उनले सन् २०२६ सम्म नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य राखेकोमा यसमा जर्मनी लगायत विकास साझेदारहरूबाट ठूलो मात्रामा पूँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक रहेको बताए । उनले भने, ‘संघीय गणतन्त्र जर्मनीको एकता दिवसको अवसरमा म जर्मन सरकार र जनतालाई हार्दिक बधाई व्यक्त गर्दछु ।’
तपाईको प्रतिक्रिया