राकेश यादव, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार आयोजना गरेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा बाराको परमानीपुरमा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना कार्यालयको तीखो आलोचना गरिएको छ ।
विपद आउनु अघि केहि नगर्ने आयोजना कार्यालयको कार्य प्रति बैठकमा सहभागीहरुले कार्यालयको कार्य प्रति खेद प्रकट गरेका हुन् ।
गएको शनिवार आएको बाढ़ीले रौतहटमा पुर्याएको जनधनको क्षति ,प्रभावित भएका व्यक्तिलाई राहत व्यवस्थापन, किसानको भएको धानबालीको क्षति सम्बन्धी छलफलका लागि बोलाइएको बैठकमा सहभागी भएका निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, उद्योगी, संचारकर्मीहरुले ठूलो नदी रौतहटमा र कार्यालय बारामा रहेकोले नदी नियन्त्रण कार्यालय रौतहटमा स्थापना गर्नु पर्ने माग गरेका छन् ।
बैठकमा सहभागी भएका नेकपा एमालेका जिल्ला इंचार्ज अजय कुमार गुप्ताले रौतहटका जनता बाढीबाट वर्षेनी पीडित हुँदै आएको भएपनि नदी नियन्त्रण कार्यालयले बाँध मर्मत सम्भारमा खासै चिन्ता नलिएको गुनासो गरे ।
पटक–पटक समयमा बागमती नदी र लालबकैया नदीको बाँध मर्मत गर्नुभन्दा पनि बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालयले कुनै चासो नदेखाएको कारण बाढीको बेला तटबन्ध भत्किने गरेको आरोप लगाए ।
बारा जिल्लामा भएको कार्यालय रौतहटमा स्थापना गराउनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन सवै राजनीतिक दलका प्रतिनिधिले सक्रियतापूर्वक भूमिका निर्वाह गर्न अपील समेत गरे ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता रेवन्त झाले ठूलो नदी रौतहटमा र कार्यालय बारामा किन राखिएको भनी प्रश्न गर्दै सम्बन्धित जिल्लामा कार्यालय संचालन हुनु पर्ने जोड़ दिए । नदी नियन्त्रण कार्यालयको प्राविधिक स्थलगत रुपमा निरिक्षण अनुगमन गरेको भए लालबकैया र बागमती नदी बाँध जोगिने थियो भने बताए ।
दुबै नदीको बांध भत्किएको कारन आएको बाढ़ीले तथा पानीको उचित निकास नहुँदा किसानको ठूलो क्षति भएको उल्लेख गरे । विपद व्यवस्थापन समितिले समयमा भएको क्षतिको यकीन गरी राहत र क्षति पूर्ति उपलब्ध गराउनु पर्ने जोड़ दिए ।
पूर्व संविधान सभा सदस्य अशोक जायसवालले संघीय संसद र प्रदेश सांसदले बागमती नदी र लालबकैया नदीको बाँधको बलियो बनाउने तर्फ सक्रियता नदेखाएको टिप्पणी गरे । परोहा नगरपालिकाका नगर प्रमुख शेख वकील ,गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह, बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवले नदी नियंत्रण कार्यालयको तीखो आलोचना गर्दै भत्किएको बाँधको पुनर्निर्माण गर्न छिटो भन्दा छिटो कार्य गर्नका लागि आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा भएको बैठकले बाढ़ी पहिरोमा परी ज्यान गुमाएका प्रति श्रदांजलि अपर्ण गर्दै प्रभावित भएकालाइ समयमा राहत व्यवस्थापन गर्नु पर्ने, भएको क्षतिको विवरण संकलन गरी क्षति पूर्ति दिनु पर्ने, भत्किएको बाँधको तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई आग्रह गर्नु पर्ने लगायतको निर्णय गरिएको छ ।
बैठकमा सुरक्षा निकायका प्रमुख राजदेवी नगर पालिकाका नगर प्रमुख भिखारी यादव, राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर मोहमद राजिक आलम, माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, गढ़ीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव, देवाही गोनाहीका नगर प्रमुख प्रेमलाल साह, मौलापुर नगरपालिकाका नगर प्रमुख रीना देवी साह, गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जायसवाल लगायत राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, नदी नियन्त्रण कार्यालयका प्रमुख, सड़क डिभिजन कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, नेपाल रेडक्रास सोसाइटीका सभापति संचारकर्मीहरु सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया