काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्काले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।
भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटन लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–फिनल्याण्ड सम्बन्धका आधार स्तम्भ भएको बताए ।
‘सन् १९७४ मा दौत्य सम्बन्ध स्थापना भए पश्चात दुई देशबीच कायम रहीआएको मैत्रीपूर्ण सम्बन्ध प्रति म खुशी व्यक्त गर्दछु’ उनले भने, ‘यस वर्ष हाम्रो कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठ भएको थाहा पाउँदा म हर्षित छु । हाम्रा दुई देशको सम्बन्धले नयाँ उचाइ पार गर्दै जाओस् भन्ने कामना गर्दछु ।’
उपराष्ट्रपति यादवले फिनल्याण्ड नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै हाल फिनिस विकास सहायता नेपालको प्राथमिकताका विषयहरु –गरिबी निवारण, वातावरणीय दिगोपना, दैवीप्रकोप न्यूनीकरण, मानव अधिकार र लोकतन्त्रको प्रवर्द्धन तथा सहभागितामूलक शासन व्यवस्था तर्फ लक्षित रहेकोमा खुशी समेत व्यक्त गरे ।
‘नेपालले सन् २०२६ सम्म अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले आवश्यक रणनीति तय गरिसकेको छ’ उनले भने, ‘यस स्तरोन्नतिलाई दिगो तथा अपरिवर्तनीय बनाउन हामीलाई फिनल्याण्ड लगायत विकास साझेदारहरूबाट ठूलो मात्रामा पूँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक पर्नेछ ।’
उपराष्ट्रपति यादवले कोभिड–१९ संक्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकोमा फिनल्याण्डप्रति आभार व्यक्त गर्दै भने, ‘फिनल्याण्डले बहुपक्षीय मञ्चहरुमा अन्तर्राष्ट्रिय मुद्दाहरु जस्तै जलवायु परिवर्तनको क्षेत्रमा खेलेको भूमिकाको नेपाल प्रशंसा गर्दछ । आपसी हितका विषयहरुमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरुमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा म आशावादी छु ।’
उनले आगामी २७ नोभेम्बरमा फिनल्याण्डको स्वतन्त्रता दिवस र नेपाल–फिनल्याण्ड कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठको अवसरमा काठमाडौंमा एक समारोह आयोजना गरिनेबारे जानकारी पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गर्दै स्वतन्त्रता दिवसको अवसरमा फिनल्याण्ड सरकार र जनतालाई हार्दिक बधाई व्यक्त गरे ।
नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्काले नेपालका लागि विकास सहायताको दृष्टिकोणले यो वर्ष राम्रो रहेको बताइन् ।
तपाईको प्रतिक्रिया