काठमाडौं । भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभीएसएमलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको छ ।
नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलको निमन्त्रणामा भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी नेपालको पाँच दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका हुन् ।
जनरल उपेन्द्र द्विवेदीलाई स्वागत गर्न प्रधानसेनापति अशोक राज सिग्देलका तर्फबाट उपरथी मधुकर सिंह कार्की, नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यम तथा भारतीय राजदूतावासका अधिकारीहरु विमानस्थल पुगेका थिए ।
बिहीबार बिहानै जनरल उपेन्द्र द्विवेदीले एक मार्मिक समारोहका बीच काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा माल्यार्पण गरी श्रद्धान्जली अपर्ण गरेका थिए । तत्पश्चात उनी नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेका थिए जहाँ उनको सम्मानमा सेनाको एक टुकुडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो ।
त्यसलगत्तै नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरी दुवै पक्षबीच द्विपक्षीय रक्षा सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उनलाई नेपाली सेनाको युद्धकार्य महानिर्देशनालय (डिजिएमओ) ले विस्तृत रुपमा ब्रिफिङ गरेको थियो ।
सेना पत्नी कल्याण संघ (भारत) की अध्यक्ष सुनीता द्विवेदीले सैनिक श्रीमती संघ (नेपाली सेना) का महिलाहरुसँग अन्तरक्रिया गरेकी थिइन् ।
विशिष्ट एवम् अतुलनीय परम्परालाई निरन्तरता दिदै नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार एक विशेष समारोहका बीच भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभीएसएमलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गरेका छन् ।
उक्त समारोहमा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल सरकार रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका सचिवहरु, नेपाली सेनाका प्रधानसेनापति महारथी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपालका लागि भारतीय रक्षा सहचरी, भारतीय प्रतिनिधिमण्डल र दुवै देशका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया