राकेश यादव, रौतहट । राजपुर नगरपालिका वडा नम्बर ६ मा चुनावी सरगर्मी बढेको छ । मङ्सिर १६ गते स्थानीय तहको हुने उपनिर्वाचनको लागि राजनितिक दलका नेता कार्यकर्ताहरु चुनावी प्रचार प्रसारमा होमिएपछि चुनावी माहौल बनेको हो ।
जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सीके राउत, नेपाली कांग्रेस पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेश सरकारका पूर्वमन्त्री कृष्णा प्रसाद यादव, वीरेन्द्र सिंह, प्रदेश सांसद नागेन्द्र प्रसाद साह, राजपुर नगरपालिकाका नगर प्रमुख डा. मोहमद राजिक आलम, माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव सहितका नेताले आफ्ना दलका उम्मेदवारलाई जिताउनका लागि प्रचार प्रसार तीब्र पारेका छन् ।
राजपुर नगरपालिका वडा नम्बर ६ मा आयोजना गरिएको चुनावी कार्यक्रममा सम्वोधन गर्दै कांग्रेसका महामंत्री शर्माले वडा नम्बर ६ मा कांग्रेसका उम्मेदवार समसे आलम नै विजयी हुने विश्वास व्यक्त गरेका छन् ।
राजपुर पूर्वमन्त्री महमद आफताव आलमको जन्म धरती भएकोले नेपाली कांग्रेस नै सफल हुने उनको भनाइ रहेको छ । नेपाली कांग्रेस लोकतन्त्रको रक्षक भएकोले नेपाली कांग्रेसका उम्मेदवारलाई आफ्नो मत दिएर विजयी बनाउन मतदातासँग आग्रह समेत गरेका छन् ।
कार्यक्रममा राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले नेपाली कांग्रेस नेपाली जनताको अधिकार, सम्मान र पहिचान दिलाउने पार्टी रहेकोले पुनः कांग्रेस पार्टीका उम्मेदवारलाइ जिताउन आग्रह समेत गरे ।
वडा नम्बर ६ मा ५ वटा राजनितिक दलका उम्मेदवार रहेका छन् भने एक महिला सहित ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेसबाट समसे आलम, नेकपा एमालेबाट मोहमद नसीम अख्तर, नेकपा माओवादी केन्द्रको तर्फबाट शेख जिकरुल्लाह, जनमत पार्टीबाट कयामुद्दीन धुनिया र राष्ट्रिय प्रजातन्त्रबाट राम नारायण प्रसाद जायसवाल उम्मेदवार रहेका छन् ।
स्वतन्त्रबाट नाजमा खातून, शेख मुस्ताक अहमद, शेख मोहमद मुस्ताक, शेख अतिउल्लाह, शेख रेयाज, सफीउल्लाह र शाहिद परवेज मंसूरी उम्मेदवार रहेका छन् । उम्मेदवारहरु चुनावी प्रचार प्रसार तीव्र पारेपनि प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टीबीच हुने देखिन्छ ।
जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, आम जनता पार्टी, राष्ट्रिय स्वतंत्र पार्टी लगायतका अन्य पार्टीले आफ्नो उम्मेदवार दिन सकेका छैनन् ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार निर्वाचित भएको थियो । दोस्रो स्थानमा नेकपा एमाले र तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेकोले पुनः तिनै पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने स्थानीयहरुको अनुमान रहेको छ ।
तपाईको प्रतिक्रिया