जनकपुरधाम । वरिष्ठ पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालको निधि’ लोकार्पण भएको छ ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको जनकपुर जनसरकारका प्रधानमन्त्री स्वर्गीय महेन्द्र नारायण निधिको लोकतान्त्रिक सङ्घर्ष सहितको विषयलाई समेटेर लेखिएको पुस्तक नेपालको निधि लोकार्पण गरेका हुन् ।
पुस्तक लोकार्पण गर्दै प्रथम राष्ट्रपति डा.यादवले संविधान गतिशील दस्ताबेज भएकाले यसमा परिमार्जन गर्दै संघीय लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
उनले संविधानमा कार्यपालिका, व्यवस्थापिकाले राम्रो काम गर्न नसकेको र स्वतन्त्र न्यायपालिकामा पनि राजनीतिक हस्तक्षेप बढेको बताउँदै अहिले विश्वविद्यालयहरूमा दलीय भागबन्डाबाट पदाधिकारीको नियुक्ति हुनु मुलुकका लागि दुर्भाग्य भएको बताए ।
पूर्वउप प्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मुलुकमा राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरण नभएसम्म मुलुकको विकास कठिन हुने बताउँदै वर्तमान सरकारले यसमा ध्यान दिँदै दुई वर्षपछि काँग्रेसलाई सहमति अनुसार नेतृत्व हस्तान्तरण गर्ने आशा व्यक्त गरे ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकको हरेक परिवर्तनमा मधेश प्रदेश भएको भूगोलले ठूलो योगदान दिएको बताउँदै मधेशका नेता तथा जनताले राज्यबाट उचित सम्मान पाउन नसकेको गुनासो गरे ।
महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष नरेन्द्र कुमार मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनता समाजवादी पार्टीका नेता रामअशिष यादव, नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं विश्लेषक रामचन्द्र झा, वामपन्थी नेता शीतल झा, नेपाली काँग्रेसका नेता रामसरोज यादव, पूर्व मन्त्री रामकृष्ण यादव, तमलोपाका नेता डा. विजय कुमार सिंह, काँग्रेसका नेता स्मृति नारायण चौधरीले स्वर्गीय नेता निधिको व्यक्तित्व माथि प्रकाश पारेका थिए ।
तपाईको प्रतिक्रिया