जनकपुर बोल्ट्सका समर्थकहरुमाथि भएको आक्रमण भर्त्सनायोग्य : तमलोपा

समाचार

जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टीले एनपीएल प्रतियोगितामा उपाधि प्राप्त गरेकोमा जनकपुर बोल्ट्स टीमलाई हार्दिक बधाई दिंदै प्रतियोगिता समाप्त हुँदै जनकपुर बोल्ट्सका समर्थकहरुमाथि भएको आक्रमणलाई निन्दनीय र दुर्भाग्यपूर्ण भन्दै भर्त्सना गरेको छ ।

तमलोपाले राम्रो सुरक्षा प्रबन्ध नमिलाइएकोमा कडा आपत्ति पनि व्यक्त गरेको छ ।

तराई–मधेश लोकतान्त्रिक पार्टीको सचिवालय प्रमुख सतीश लाल दासद्वारा आइतबार प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, “हिजो सम्पन्न क्रिकेट प्रतियोगिता एनपीएलको फाइनलमा जनकपुर बोल्ट्स जीत हात पार्दै एनपीएलको प्रथम उपाधि प्राप्त गर्न सफल भएको छ । तराई–मधेश लोकतान्त्रिक पार्टी जनकपुर बोल्ट्सलाई हार्दिक बधाई दिंदै यस प्रतियोगितामा भाग लिने सबै टीम र खेलाडीहरुको राम्रो खेल प्रदर्शन र प्रतिस्पर्धाको स्वच्छ भावनाको कदर गर्दछ ।”

तमलोपाको विज्ञप्तिमा आगाडि उल्लेख छ, “जनकपुर बोल्ट्सले यो उपाधि प्राप्त गर्न कडा प्रतिस्पर्धा गरेको हो । खेलमा हार–जीतको क्रम चलिरहन्छ र त्यसलाई सहजतापूर्वक ग्रहण गरी सफलताको कोशिशमा लागिरहनु पर्ने हुन्छ । जनकपुर बोल्ट्सले यही गर्यो र सफलता प्राप्त गर्न सफल भयो । तर, केही उच्छृंखल व्यक्तिहरुले जीतपछि जनकपुर बोल्ट्सका फ्यानहरुमाथि नस्लीय भाषाको प्रयोग गर्दै लट्ठी र रडले आक्रमण गरेर कयौंलाई घाइते तुल्याएको खबरले हामी आहत भएका छौं । यस घटनामा त्यहाँ उपस्थित सुरक्षाकर्मीहरुको भूमिका पनि आपत्तिजनक देखियो । सच्चा खेलप्रेमी र जागरुक सबैको यही स्थिति होला । यस्तो निन्दनीय मानसिकता र क्रियाकलाप कुनै सभ्य समाजमा स्वीकार्य हुन सक्दैन । तराई–मधेश लोकतान्त्रिक पार्टी यस्ता घटना गर्ने असामाजिक तत्व र यस्तो समयमा सुरक्षाको पर्याप्त र तटस्थ व्यवस्था नगर्ने जिम्मेदार सबैको घोर भर्त्सना गर्दछ तथा दोषीहरुमाथि तत्काल कारबाहीको माग गर्दछ ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ