सत्ताको सेयर लिम्बुलाई दिनुपर्छ : राजेन्द्र महतो

समाचार

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सत्ताको सेयर लिम्बुलाई दिनुपर्ने बताएका छन् ।

सोमबार माइतीघरमण्डलामा आयोजित मुक्कुमलुङ संरक्षण संघर्ष समितिको विरोध प्रदर्शन कार्यक्रममा अध्यक्ष महतोले यस्तो बताएका हुन् ।

महतोले भने, ‘यो देश लिम्बुको हो कि होइन ? हो भने सार्वभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वात्तता हुनुपर्छ । लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन । आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुदैन, मानव अधिकार पनि हुदैन ।’

उनले भने, ‘अहिले केवलकार निर्माण जारी राखेको छ, आन्दोलनकारी पक्राउ गरिरहेको छ तर वार्ताको नौटंकी गर्दै छ । यसरी तर्साएर डराएर धम्काएर वार्ता हुदैन ।’

उनले दमन गर्ने, गोली हान्ने जस्तो कार्य राज्य सधै गर्दै आएको बताउँदै उनले छुट्टाछुट्टै लड्दा दमन गर्छ नै त्यसैले अब सबै मिल्नुपर्ने धारणा राखे । ‘केवल लिम्बु समुदायको सहभागिताले मात्र अहिले पनि सफलता सम्भव छैन, सम्पूर्ण उत्पीडितहरुको एकता आवश्यक छ,’ उनले भने ।

उपरोक्त सवाल केवलकार वा रोजिरोटीसँग सम्बन्धित सवाल मात्रै नरहेको बताउँदै यो बैचारिक दार्शनिक सवाल पनि रहेको जिकिर गरे । उनले भने, ‘सम्पूर्ण विजय प्राप्तको निम्ति स्वदेशी सत्ता चाहिन्छ । त्यसैले मधेशी–आदिवासी अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य छ । मुक्कुम्लुडको संघर्षले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्य थप स्पष्ट पार्दैछ ।’

उनले अब बहुलराष्ट्रिय राज्य स्थापनाका लागि लामबद्ध हुन जरुरी रहेको बताए । ‘नश्लीय सरकारको गलत नियत भण्डाफोर गर्दै मुन्धुमी आस्थास्थल र सांस्कृतिक सम्पदा जोगाउन सबै एकजुट हुनुपर्छ ।’ उनले भने, ‘अब लिम्बू एक्लै छैन, उसँग मधेश उभिएको छ । एक्लै लड्दा गरिएको दमनझैँ सधैं दमन गर्छु नसोचे हुन्छ, अब सबै एक हुने हो र इटको जवाफ पत्थरले दिइने छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ