जनकपुरधाम । जनकपुरधाममा बिहीबारदेखि छैटौँ जनकपुर साहित्य महोत्सवको आयोजना हुन लागेको छ ।
नव मिथिला फाउन्डेसनको आयोजनामा साहित्यिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउने उद्देश्यले छैटौँ संस्करणको महोत्सव आयोजना गर्न लागेको जनाएको हो । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेसनका अध्यक्ष अमित कुमार साहले बिहीबारदेखि शनिबारसम्म हुने महोत्सवमा विभिन्न १७ वटा शीर्षकमा छलफल हुने जानकारी दिए ।
यस वर्षको महोत्सवमा ‘जनकपुरधामका चुनौती र अवसरहरू’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘क्रिकेट समस्या, समाधान र सम्भावना’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’, ‘नीतिमा युवाको चासो’, ‘संघीय दृष्टिमा मधेश’ लगायतका १७ वटा शीर्षकमा बहस हुने आयोजकले जनाएको छ ।
महोत्सवमा १४ वटा समूहगत छलफल र ३ वटा एकल प्रवचन समेटिएको आयोजकले जनाएको छ ।
‘सियाराम राज्यको परिकल्पनाः साहित्य र अर्थ राजनीति’ सत्रको वक्ताको रुपमा राजनीतिक विश्लेषक सिके लाल रहनेछन् । यसैगरि ‘जनकपुरधाम चुनौती आ अवसर सब’ सेसनमा जनकपुरधामका वर्तमान मेयर मनोज साह र पूर्व मेयर बजरङ्ग साह तथा वृषेश चन्द्र लाल रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
‘क्रिकेटः समस्या, समाधान र सम्भावना’ सेसनमा सुयशराज प्याकुरेल, भावना घिमिरे र सुदिप शर्मा प्रमुख वक्ताको रुपमा रहेका छन् ।
तीन दिनसम्म चल्ने महोत्सवमा भूषिता वशिष्ठ, रामअशिष यादव, मंचला झा, डा. सुरेन्द्र लाभ, दीपक राज जोशी, रानी शर्मा तिवारी, कञ्चन राय, पवित्रा बहादुर गौतम, अनिल महासेठ, वर्षा भण्डारी, निशा डाँगी, पुरन साह रौनियार, रहबर अन्सारी, तुलानारायण साह, सुधीर शर्मा, इम्तियाज वफा, मनीष झा, विप्लव प्रतीक, विभा झा, घनश्याम खड्का, कुलमान घिसिङ लगायतका वक्ताको रुपमा रहेका छन् ।
कार्यक्रमहरू जनकपुरधामको राम मन्दिर अगाडीको राम बागमा हुने भएकोले त्यसको तयारी पनि तीव्र रुपमा भइरहेको छ । सबै कार्यक्रम गर्न ४० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गर्नु हुने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया