मधेश प्रदेशमा पाठेघर क्यान्सर रोगविरुद्धको खोप अभियान शुरु

समाचार

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा विश्व क्यान्सर रोग दिवसको अवसरमा महिलाहरूको पाठे घरमा लाग्ने रोग विरुद्धको निःशुल्क एचपिभि खोप अभियानको जनकपुरधामबाट शुरुवात गरिएको छ ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवलाई एचपिभि खोपको किट हस्तान्तरण गरेर अभियानको शुरुआत भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा १० वर्ष देखि १४ वर्षका पाँच जना किशोरीलाई नेपाल सरकारले प्रदान गरेको निःशुल्क एचपिभि खोप स्वास्थ्यकर्मीले प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले नेपालमा क्यान्सर रोगको समस्या निक्कै ठूलो रहेको र त्यसमा महिलाको पाठेघरमा लाग्ने रोगका कारणले दैनिक रुपमा चार जनाको मृत्यु भइरहेकाले क्यान्सर रोग विरुद्धको खोप लिनबाट कोही छुट्न नहुने बताए ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले मधेश प्रदेशका कुनै पनि किशोरीहरू पाठेघरमा लाग्ने क्यान्सर रोग विरुद्धको खोप लिनबाट छुट्न नहुने र त्यसका लागि जनप्रतिनिधिहरूले विशेष पहल गर्न तयार भएको बताए ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव राजेश मिश्रले आफ्नो परिवारमा एक जना महिलालाई पाठेघरको क्यान्सर रोग लागेको र त्यसको पीडा बारेमा आफू जानकार भएकाले कुनै किशोरीहरू खोप लिनबाट छुट्न नहुने बताए ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. रामनरेश पण्डितले मुलुकमा निःशुल्क एचपिभि खोप लिने उमेर समूहका किशोरी मध्ये मधेश प्रदेशमा मात्र एक चौथाई रहेकाले यसलाई सफल बनाउने काम हामी सबैको भएको बताए ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक श्रवण कुमार नायकले मधेश प्रदेशका १ सय ३६ पालिकाको ३ लाख ६९ हजार १ सय २४ जना किशोरीलाई एचपिभि खोप दिने कार्यक्रम रहेको बतााए । यसका साथै विद्यालय बाहिर भएका ७५ हजार २ सय ११ जना किशोरीहरूलाई स्वास्थ्य संस्थामा खोप लगाइने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ