जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल–भारत बीचमा रहेको धार्मिक तथा सांस्कृतिक समानताले दुवै देशको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको बताएका छन् ।
मुख्यमन्त्री सिंहले भारतीय महावाणिज्य दूतावास वीरगञ्ज तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजना र नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास परिषद्को समन्वयमा आज जनकपुरधाममा भएको भएको पर्यटन सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।
उनले नेपालमा रहेको रामायण सर्किट सँगै काठमाडौँ, लुम्बिनी तथा पोखरालाई जोड्न सकेको खण्डमा दुवै देशको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने भएकाले रामायण सर्किटलाई अझ बढी उजागर गर्नका लागि प्रदेश सरकारले दुग्धमति नदिको संरक्षण सहितको योजनाहरू अगाडी बढाएको बताए ।
मुख्यमन्त्री सिंहले नेपालमा जानकी मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई नेपालको अन्य धार्मिक गन्तव्यसँग जोडेको खण्डमा यसको लाभ अरू ठाउँका पर्यटन क्षेत्र सहित सिङ्गो नेपालले नै पाउने भएकाले यस्ता प्रकारको कार्यक्रमका लागि थप लगानी र प्रचार प्रसार आवश्यक भएको बताए ।
उनले नेपालका धार्मिक पर्यटकहरू भारी सङ्ख्यामा भारतको प्रयागराज, अयोध्या, बाबाधाम तथा बनारस जाने गरेको कारणले यसबाट भारतमा अरबौ रकम नेपालबाट गएर भारतको पर्यटन क्षेत्र विकासमा ठूलो योगदान गरेको बताए ।
भारत सरकारको बीरगञ्ज स्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मिनाले भारत र नेपाल बीचको समान धार्मिक तथा सांस्कृतिक सम्बन्ध भएकाले दुवै देशका पर्यटकहरू दुवै देशको धार्मिक तीर्थस्थलको भ्रमण गर्न चाहेको बताउँदै पर्यटकहरूको सहजीकरणका लागि दुवै देश गम्भीरता सहित काम गर्न जरुरी रहेको बताइन् ।
कार्यक्रममा नेपाल भारतको पर्यटन प्रवद्र्धनमा रामायण सर्किटको विकास तर्फ दुवै देशका सरकारले साझा रणनीतिका साथ काम गर्नु पर्ने धारणामा मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष द्वय डा. हरिवंश झा, डा. भोगेन्द्र झा, वर्तमान नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन कुमार साहले जोड दिए ।
कार्यक्रममा मारवाडी सेवा समिति जनकपुरधामका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य निर्मल चौधरी, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख बजरङ्ग प्रसाद साह, चेम्बर अफ कमर्सका मधेश प्रदेशका अध्यक्ष अभिषेक चौधरी, संस्कृति विद् रमेश रञ्जन झा, सुनिल मल्लिक तथा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले रामायण सर्किटको विषयमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया