कवाड व्यवसायीप्रति काठमाडौं महानगरले गरिरहेको ज्यादतिको जनमत पार्टीद्वारा भर्त्सना

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरु माथि गरिरहेको कुटपिट तथा ज्यादतीप्रति डा.सीके राउत नेतृत्वको जनमत पार्टीले भर्त्सना गरेको छ ।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा.शरदसिंह यादवले बुधबार एक विज्ञप्ति जारी गरी नागरिकको संवैधानिक अधिकारको रक्षा गर्न नेपाल सरकारसँग आग्रह गर्दै कवाड व्यवसायीहरूमाथि कुटपिट र ज्यादती गर्नेमाथि कडा कारबाही गर्न समेत माग गरेका छन् ।

‘नेपालको संविधानको धारा १७(च) ले नेपालको कुनै पनि भागमा पेशा रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता दिएको छ । सोही अनुरूप काठमाडौं महानगरपालिकामा समेत कवाड व्यवसायीहरूले नेपाल सरकारबाट वैधानिक अनुमति प्राप्त गरेर र कर बुझाउँदै वर्षौंदेखि आफ्नो व्यवसाय संचालन गर्दै आएको विदितै छ ।’, प्रवक्ता यादवले विज्ञप्तिमा भनेका छन् ।

काठमाडौँ महानगरपालिकाले पछिल्लो समयमा कवाड व्यवसायीहरूलाई विस्थापित गर्ने, उनीहरूको भवन तथा व्यवसायिक संरचनामाथि अदालतको आदेशविरुद्ध समेत जबरजस्ती डोजर चलाउने, व्यवसायीहरूमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गर्ने र आतङ्ग मचाउने काम हुँदै आएको छ ।

कुनै पनि स्थानीय तहद्वारा ल्याइएको ऐन, कानून, नियमावली वा मापदण्ड देशको संविधानभन्दा माथि हुन नसक्ने र नागरिकको संवैधानिक अधिकार खोस्ने ऐन, कानून वा नियमावली स्वतः खारेज हुने कुरा समेत उनले स्मरण गराएका छन् ।

उनले भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाद्वारा नगर प्रहरी लगाएर भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हननको विरुद्धमा नागरिकको रक्षा गर्ने जिम्मेबारी नेपाल सरकारको हुन्छ । कवाड व्यवसायमा अधिकांश मधेशी समुदायको व्यक्ति संलग्न रहेको भनेर नेपाल सरकारले चुप लागेर कवाड व्यवसायीहरूलाई काठमाडौंबाट विस्थापित गर्ने षड्यन्त्रमा सामेत हुने हो भने यसले राष्ट्रिय एकतामा प्रतिकूल प्रभाव पार्न सक्ने कुरालाई ध्यान दिन आग्रह गर्दछौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ