काठमाडौं । उदयपुर जिल्लाको सामुदायिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन गरिएको छ ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.३.७९९ करोडको परियोजना लागतमा निर्मित उदयपुर जिल्लास्थित श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवनको प्रतिनिधि सभाका सांसद डा. नारायण खड्का, काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र उदयपुरस्थित बेलका नगरपालिकाका मेयर अशोक कार्कीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो ।
यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको थियो र उदयपुरको बेलका नगरपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।
श्री जनता बेलका माध्यमिक विद्यालय बेलका नगरपालिकाको पुरन्दहमा रहेको एक मात्र माध्यमिक विद्यालय हो । यो सन् १९६२ मा प्राथमिक विद्यालयको रूपमा स्थापित भएको थियो र पछि सन् १९७६ मा निम्न माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति गरिएको थियो । सन् २००८ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो । यस विद्यालयमा लगभग ५०० विद्यार्थीहरू रहेका छन्, जसमध्ये ५५% छात्राहरू छन् ।
काठमाडौँस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गतको श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण कसरी भारत र नेपाल बीचको बलियो र जीवन्त विकास साझेदारीको उत्कृष्ट उदाहरण हो भन्ने कुरामा प्रकाश पारे ।
उनले वर्षौंदेखि रहिआएको यस साझेदारीको वृद्धि, विस्तार र विविधीकरणमा खुशी व्यक्त गर्नुभयो । वहाँले नेपाल सरकारको प्राथमिकतामा आधारित यो साझेदारीलाई थप सुदृढ पार्न भारत सरकारको प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतिनिधि सभाका सदस्य, उदयपुरस्थित बेलका नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको लागि भारत सरकारले गरेको विकास सहयोगको प्रशंसा गरे ।
उनीहरूले निर्माण गरिएको पूर्वाधारले उदयपुरको श्री जनता बेलका माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्नुका साथै नेपालको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन पनि मद्दत गर्नेछ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।
तपाईको प्रतिक्रिया