राकेश यादव, रौतहट । गौर नगपालिकाका नगर प्रमुख शम्भू साह कानूले गौरमा भइरहेको आन्दोलन खाएको पैसा पचाउनका लागि रहेको टिप्पणी गरेका छन् ।
नारी चेतना महिला कृषक सहकारी संस्था लिमिटेडले गौर नगरपालिकाको सभाहलमा ११५औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मेयर साहले गौर राइस आयल एन्ड फ्लोर मिल्स लिमिटेडको नाउँमा दर्ता रहेको जग्गा बिक्री गराउने कार्यमा संचालक समितिसँग लिएको रकम फिर्ता गर्न नपरोस भनी केही पूर्वजनप्रतिनिधिले आन्दोलनको नाउँमा द्वन्द फैलाउने कार्य गरिरहेको आरोप लगाएका हुन् ।
वर्षौंदेखि विवादमा रहेका गौर राइस मिलको जग्गा संचालक समितिले करिब ३० करोडभन्दा बढी मूल्य भएको २ बिघा १५ कट्ठा जग्गा खेलखुद मैदानका लागि निःशुल्क दानमा दिन लागेकोमा त्यसलाई अवरोध गर्ने उद्देश्यले आन्दोलन गर्न लागिएको कटाक्ष गरे ।
राइस मिलका संचालक समितिले पूर्वनगर प्रमुख अजय कुमार गुप्तालाई उनको होटल सिया पैलेसमा २० लाख र पेट्रोल पम्पमा ६० लाख रुपैयाँ दिएको भिडिओ मार्फत सार्वजनिक गरेको अवस्थामा पनि केही प्रतिक्रिया नदिएर चुप लागेर बस्नु अर्थ के रहेको भनी प्रश्न समेत गरे ।
कानून बमोजिम जग्गाको हकÞदार गौर राइस एवं फ्लोर मिल्स लिमिटेड नै भएको सर्वोच्च अदालतले ठहर गरिसकेको अवस्थामा हकÞदार नै कोही नभएको भन्नु मूर्खता रहेको जिकिर गरे ।
उनले भने, ‘जग्गा अधिग्रहणको लागि रकम सुनिश्चिता गर्न मधेश प्रदेश सरकारलाई पत्राचार गर्दा कुनै प्रतिक्रिया नदेखाएको कारण अधिग्रहण प्रक्रिया ओझलमा परेको हो ।’ संघीय सरकारको आर्थिक सहयोगमा निर्माण भएको पुस्तकालयको भवन एक जना व्यापारीलाई भाडामा दिएर पूर्वनगर प्रमुख गुप्ताले भाडा बापतको रकम समेत हिनामिन्हा गरेको उनको दावी छ । ‘गौर बारहवा तालको कहिले ठेक्का नलगाएकोमा मैले आफ्नो पालामा माछा पालनको लागि ठेक्का प्रक्रियामा लागेको’ उनले बताए ।
फरक प्रसंगमा भने, ‘महिलालाई जाड्याले सम्मान गर्न सकिने छैन । महिला आमा, छोरी, बहिनी र श्रीमतीको भूमिकामा देखिने भएकोले महिलालाई पूर्णरुपमा मानसम्मान दिनु पर्छ ।’
महिलालाई सशक्त बनाउन शिक्षा जरुरी रहेकोले छोरीलाई अध्ययन गराउन सुझाव समेत दिए ।
गीता देवी कुशवाहाको अध्यक्षता तथा उपप्रमुख शैल देवी साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला नेतृ इन्दु देवी झा, वडा अध्यक्ष शिवशंकर यादव, अवध किशोर साह, हरिशंकर पाण्डेय, संजय गिरी, विनोद चौधरीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संचारकर्मीसहित बालिकाहरुलाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया