गौर राइस मिलको संचालक समिति माथि छानबिन जरुरी : पूर्वराज्यमन्त्री यादव

समाचार

राकेश यादव, रौतहट । जनता समाजबादी पार्टी नेपालका युवा नेता एवम् मधेश प्रदेश सरकारका पूर्वकृषि राज्यमन्त्री योगेन्द्र राय यादवले वर्षौंदेखि अधिग्रहणको विषयमा विवादित रहेका गौर राइस मिलको जग्गाको टुंगो लगाउनु एक मात्र विकल्प रहेको बताएका छन् ।

गौर राइस एंड फ्लोर मिल्स लिमिटेडको नाउँमा २०२१ सालमा सर्वे हुँदा २००३ सालमा स्थापना भई संचालनमा आएका उक्त कम्पनीको नाउँमा ५ बिघा १९ कट्ठा १५ धुर जग्गा सर्वे नापी भई फिल्ड बुक, जग्गा धनि श्रेस्ता पुर्जा तयार भएकोमा संचालक समितिको यकिन भने हुन नसकेकोमा सरकारी स्तरबाट सार्वजनिकीकरण गर्नु पर्ने धारणा राखेका हुन् ।

२०३० साल पछि मिल बन्द भैसकेपछि सो जग्गा हालसम्म विभिन्न किसिमको सभा सम्मेलन, खेलकुदको लागि प्रयोग हुँदै आएकोले नक्कली शेयर धनि बनेर जग्गा बिक्रि गर्ने खोज्नेलाई कानुनी दायारामा ल्याई कार्यवाही गर्न नेपाल सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण गराए ।

नेता यादवले भने, ‘शेयरधनिको छानबिन गर्नु पर्छ । राइस मिलको संचालक समितिको सचिवको नाउँ सार्वजनिक भएपनि अन्य पदाधिकारीको नाउँ गौन रहेकोले नक्कली शेयरधनि प्रमाणित भइरहेको छ ।’

मधेश प्रदेश सरकारले छिटोभन्दा छिटो ऐतिहासिक खेल मैदानको रुपमा रहेको सो जग्गालाई अधिग्रहण गर्नु पर्ने जोड दिँदै पूर्वराज्यमन्त्री यादवले जग्गा बिक्री गर्ने भू–माफियालाई सरकारले छानबिन गरि नाङ्गो गर्नु पर्ने बताए ।

तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको सरकारले अधिग्रहण गर्ने प्रक्रियामा त्रुटी गरेको कारण नक्कली संचालक समितिले जग्गा बिक्री वितरण गर्ने कार्यमा सक्रियता बढाएको उनको कथन रहेको छ ।

गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले गरेको निर्णय जनताको भावनाविपरीत भएको ठहर गर्दै यादवले सर्वपक्षीय बैठकबाट राइस मिलको जग्गाको विवाद प्रकरण टुंग्याउनु पर्ने सुझाव दिए ।

गौर राइस मिलको जग्गा विषय लिएर गौरमा स्थानीयहरू आन्दोलन गरिरहेकोले समस्या जटिल बन्न सक्ने अवस्था रहेकोमा विवाद वार्तामार्फत समाधान गर्नुपर्ने पहलकदमी नगर प्रमुख साहले गर्नु पर्ने जनाए । उनले भने, ‘वार्ता र सहकार्यको माध्यमबाट विवाद समाधान गर्न सकिने छन्, आन्दोलनले जटिलता निम्त्याउन सक्छ ।’

मधेश आन्दोलनको ठूलो जगको रुपमा देखा परेको गौर राइस मिलको जग्गा रौतहटको जनताका लागि गर्वको कुरो रहेकोले यसको विरुद्ध कुनै कार्य गरे त्यसको परिणाम नराम्रो हुन सक्ने भएकोले समयमा नै सचेत भएर कुनै कदम चाल्न मेयर साहलाई आग्रह गरेका छन् ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले गौर राइस मिलका संचालक समितिले खेलकुद मैदानका लागि निःशुल्क रुपमा २ बिघा १५ कट्ठा जग्गा नगरपालिकालाई दिन लागेको बताएपछि प्रतिपक्षी दलका स्थानीय नेता कार्यकर्ताहरुले नगरपालिकाको विरुद्ध आन्दोलन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ