काठमाडौं । आसन्न स्वतन्त्र विद्यार्थी युनियन चुनावमा लोकतान्त्रिक विद्यार्थी संघ उत्साहित हुँदै विगतभन्दा राम्रो नतिजा ल्याउने जनाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रोशन मिश्रले गत चुनावभन्दा यसपालि राम्रो परिणाम आउने विश्वास व्यक्त गरेका छन् ।
उनले आम विद्यार्थीका पक्षमा लोकतान्त्रिक विद्यार्थी संघले काम गर्दै आएकोले यसपटकको चुनावमा धेरै ठाउँमा जित्ने दाबी गरेका हुन् ।
उनले भने, ‘हामी विगतदेखि नै विद्यार्थीको समस्यालाई उठाउँदै आएका छौं । शिक्षा क्षेत्रका बेथितिहरुलाई सुधारका लागि योजनाबद्धरुपमा लागेका छौं ।’ नेपालको माटो सुहाउँदो शिक्षा नीति बन्नुपर्ने उनको जोड छ ।
उनले नेपालका विद्यार्थीहरु आफ्नै देशमा भविष्य नदेखिरहेको प्रति चिन्ता व्यक्त गर्दै भने, ‘आफ्नै देशमा भविष्य छ भन्ने वातावरणका लागि हामी विगतदेखि नै संघर्षरत छौं ।’ पाठ्यक्रममा व्यापक परिमार्जनको आवश्यकता औंल्याउँदै उनले रोजगारीमा आधारित पाठ्यक्रम निर्माण हुनुपर्ने उनको तर्क छ ।
लोकतान्त्रिक विद्यार्थी संघले विभिन्न विद्यार्थी संगठनहरुसँग सहकार्य गरेर स्ववियु चुनावमा भाग लिन लागेको हो ।
लोकतान्त्रिक विद्यार्थी संघले सप्तरीमा नेविसंघ, सर्लाहीमा अनेरास्ववियु र राष्ट्रिय विद्यार्थी मञ्चसँग चुनावी सहकार्य गरेको उनले बताएका छन् । यस्तै अन्य जिल्लाहरुमा पनि कतै चुनावी सहकार्य त कतै एक्लै चुनाव लडिरहेको बताए ।
तपाईको प्रतिक्रिया