काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले आफू आजसम्म कुनै दल, समूह वा कुनै राजनीतिक अभियानमा नलागेको बताएका छन् ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको सल्लाहकारमा आफ्नो नाम राखिएकोमा पूर्वप्रदेश प्रमुख डा. अहिराजले असन्तुष्टि जनाउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।
राजावादीहरूले सोमबार पत्रकार सम्मेलन गरी समिति र समितिका सल्लाहकारको नामावली सार्वजनिक गरेको थियो । सल्लाहकार समितिमा डा.अहिराजको पनि नाम थियो । तर, अहिराजले भने उक्त समितिको सल्लाहकारमा आफू नभएको र आफूसँग कुनै सल्लाह पनि नगरिएको प्रष्ट्याएका हुन् ।
डा.अहिराजले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘देश प्रतीको माया र जनताको सुरक्षित भविष्यका लागि हरपल तयार छु । मेरो सहमति, जानकारी वा छलफल बिना कसैले कुनै समितिमा मेरो नाम नराखिदिनु होला । म आजसम्म कुनै दल, समूह वा कुनै राजनीतिक अभियानमा जोडिएको छैन । म स्वतन्त्र विचार राख्ने र देशलाइ माया गर्ने आम नेपाली मात्र हो ।’
राजा फर्काउने निर्देशक समितिको संयोजकमा नवराज सुवेदी छन् । यसैगरी सदस्यहरुमा अस्मिता भण्डारी, कमल थापा, केबरबहादुर विष्ट, दुर्गा प्रसाई, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, रविन्द्र मिश्र, राजेन्द्र लिङ्देन र हरिबहादुर बस्नेत छन् ।
निर्देशक समितिको प्रमुख सल्लाहकारमा डा. जगमान गुरुङ तथा सल्लाहकारमा बुद्धिराज बज्रचार्य, डा. शास्त्रदत्त पन्त, डा. राजेश अहिराज र खेमराज राई रहेको उल्लेख छ ।
तपाईको प्रतिक्रिया