२५ करोड बराबरको विदेशी मुद्रा सहित एक जना पक्राउ

समाचार

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रसुवा नाकामार्फत ट्रकमा युरो र अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।

ठूलो मात्रामा विदेशी मुद्रा ओसारपसार भइरहेको सूचनाका आधारमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ निवासी ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार बरामद विदेशी मुद्रा नेपाली रुपैयाँमा रूपान्तरण गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउँछ । मंगलबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रहरीले यसबारे जानकारी गराएको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले राजधानीको झोरबाट ना ७ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । ट्रकमा फल्स बटम (गुप्त भण्डारण) बनाएर रकम लुकाई केरुङतर्फ लैजाने तयारी भइरहेको बेला प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका कुसाङ लामा भरियाको रूपमा प्रयोग भएको खुलेको छ । उक्त रकम अवैध सुन किन्नका लागि चीनतर्फ तस्करी भइरहेको आशंका गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ