काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले राजावादीहरुले शान्तिपूर्ण आन्दोलनको चरित्रलाई कलंकित पारेको आरोप लगाएका छन् ।
अध्यक्ष महतोले शनिबार एक विज्ञप्ति जारी गरी लोकतान्त्रिक मुल्य मान्यता, मानवाधिकार र राष्ट्रिय एकताको पक्षमा राजनीतिक मुल्य मान्यता अटुट रहेको दोहर्याउदै यसविरुद्ध हुने कुनै पनि षडयन्त्र, हिंसा वा अराजकताको कडा शब्दमा निन्दा र भर्त्सना गरेका हुन् । उनले भनेका छन्, ‘तथापी संघीय लोकतान्त्रिक गणतन्त्रको चरित्र र सारबारे हाम्रो अलग मत रहेको विभिन्न मिडियामार्फत बारम्बार सम्प्रेषण गर्दै आएका छौं ।’
चैत्र १५ गते काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकहरुद्वारा प्रदर्शनको नाममा जस्तो कार्यक्रमको आयोजना भयो, त्यसलाई लोकतान्त्रिक मुल्य मान्यताको कसीमा उपयुक्त मान्न नसकिने महतोको ठहर छ । जनप्रदर्शनको नाममा संगठित हिंसा, आगजनी, लुटपाट र अराजकताले देशलाई नै मर्माहत बनायो भने लोकतन्त्र र शान्तिपूर्ण आन्दोलनको मर्यादामाथि पनि ठेस पुर्याएको उनले बताएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘निजी सम्पत्तिमाथि आक्रमण र आगजनी, राजनीतिक दलको कार्यालयमा तोडफोड र आगजनी, अन्नपूर्णा तथा कान्तिपुर मिडिया हाउसमा आगजनी, रास्वपाका प्रमुख सचेतकको गाडि जलाइनु, जडीबुटी कम्पनीमा आगजनी, सुपर मार्केटमा तोडफोड र लुटपाट, सविन महर्जन तथा पत्रकार सुरेश रजकको निर्मम हत्या जस्ता घटनाहरूले शान्तिपूर्ण आन्दोलनको चरित्रलाई कलंकित पारेको छ ।’
महतोले मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यस्तो हिंसाको पुनरावृत्ति नहोस् भन्दै राज्यले पीडित परिवारहरूलाई तत्काल क्षतिपुर्ति र न्याय दिनुपर्ने माग गरेका छन् ।
‘यो घटनाको पृष्ठभूमिमा सरकार र प्रहरी प्रशासनको गम्भीर असफलता रहेको छ । प्रहरीले आगजनी हुँदै गरेको देखेर पनि पत्रकार सुरेश रजकलाई नबचाएर प्रशासनको लापरवाही स्पष्ट छ । प्रदर्शनकारीहरूले आगजनी र लुटपाट गर्दा सुरक्षा निकायहरू निष्क्रिय रहे भने केही अधिकारीहरूले प्रदर्शनकारीलाई उक्साउने भूमिका निर्वाह गरेको आरोप पनि छ ।’ महतोले विज्ञप्तिमा भनेका छन् ।
तपाईको प्रतिक्रिया