पत्रकार रजकको हत्याको दोषीलाइ कार्यवाहीको माग गर्दै प्रदर्शन

समाचार

राकेश यादव, रौतहट । आन्दोलनको क्रममा हत्या गरिएका सन्चारकर्मी सुरेश रजकको घटनामा संलग्न भएकाहरुको छानबिन गरी कार्यवाही गर्नु पर्ने माग राख्दै शनिबार श्रमजिबी पत्रकार संघ नेपाल रौतहट शाखाले विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको तिनकुनेमा समाचार संकलन गर्न गएका पत्रकार रजकलाई आगो लगाएर गरिएको हत्याको विरुद्ध श्रमजिबी पत्रकार संघ नेपालमा आवद्ध सन्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

शुक्रबार गणतन्त्रवादी मोर्चा र राजावादीले गरेको प्रदर्शनको क्रममा तिनकुनेमा गरिएको भवनमा आगजनीको क्रममा पत्रकार रजकको जलेर मृत्यु भएको घटनाको दोषी माथि कार्यवाही गर्न नेपाल सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गरिएको श्रमजिबी पत्रकार संघ नेपालका अध्यक्ष सन्तोष पौडेलले जनाएको छ ।

नेपालमा भएको आन्दोलनमा भूमिका निर्वाह गर्ने पत्रकारमाथि गरिएको जघन्य आक्रमणले सम्पूर्ण नेपाली पत्रकार जगत नै स्तब्ध भएको बताउदै ज्यान जोगाउनु पर्ने प्रशास्त समय हुदा हुदै पनि सुरक्षकर्मीहरुले देखाएको उदासीनताले प्रश्न चिन्ह खडा गरेको टिप्पणी गरे ।

नेपाल पत्रकार महासंघ रौतहटको पूर्वअध्यक्ष एवम् श्रमजिबी पत्रकार संघ नेपालका सल्लाहकार रविन्द्र प्रसाद साहले लोकतन्त्र गणतन्त्रको स्थापनाको लागि अहम् योगदान पुर्याउने सन्चारकर्मी माथि आक्रमण हुनु निन्दनीय भएको बताए । समाचार रिपोटिंगको क्रममा आगो लगाई जिउँदै जलाइएको घटना दुखद रहेकोले निष्पक्ष रुपमा छानबिन गरी दोषी पत्ता लगाई कार्यवाही गर्न नेपाल सरकारसँग माग समेत गरे ।

विरोध कार्यक्रममा उपाध्यक्ष राकेश कुमार यादवले पत्रकार रजकको हत्याको मुख्य दोषी त्यहाँ सुरक्षाका लागि खटिएका प्रहरी नै जिम्मेवार रहेको आरोप लगाए ।

भवनमा आगो लागेको र त्यहाँ पत्रकार फसेको प्रहरीको उच्च अधिकारीलाई जानकारी गराउँदा पनि कुनै किसिमको प्रतिक्रिया नदेखाएकोले प्रहरी नै जिम्मेवार भएको उनको भनाई रहेको छ ।

घटनाको छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याई कार्यवाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे ।

विरोध कार्यक्रममा सहभागी भएका पत्रकारहरुले गृहमन्त्रीको राजीनामा, दोषी माथि कार्यवाही गर, पिडितलाइ न्याय देउ, घटनाको सत्य तथ्य छानबिन गर जस्ता नारा लगाएका थिए ।

त्यसैगरी मरिएका पत्रकार सुरेश रजकको चिर शान्तिको कामना गर्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले श्रदान्जली सभाको आयोजना गरी दीप प्रज्वलन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ