काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगञ्जमा शोभा यात्राका क्रममा सृजना भएको तनाव र विकसित घटनाक्रमप्रति चासो व्यक्त गरेका छन् ।
हनुमान जयन्तीको अवसरमा गएको शनिबार वीरगञ्जमा निकालिएको शोभा यात्राका क्रममा भएको झडप र त्यसबाट विकसित घटनाक्रमहरूप्रति चिन्ता व्यक्त गर्दै उनले घटनामा संलग्नहरूलाई तत्काल कारबाही गर्न निर्देशन समेत दिएका हुन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री गुप्ताले भनेका छन्, ‘कुनै तवरले सामाजिक सद्भावमा खलबल पु¥याउने कार्य दूर्भाग्यपूर्ण रहेको छ । साम्प्रदायिक विद्वेषको कुरूप, उपद्रवी र सङ्कीर्ण मनोदशाबाट माथि उठी आपराधिक कू–कृत्यमा संलग्न जोसुकैलाई उचित छानबिन गरी कानूनी दायरामा ल्याउन समेत प्रहरी प्रशासनलाई कडा निर्देशन दिएको छु ।’
उनले घटनापछि दुवै समुदायबीच अलग–अलग तथा सर्वदलीय बैठक बसी घटनाका बारेमा गरिएको गम्भीर समीक्षा र त्यसपछि गरिएको पाँच बुँदे सहमति अनुसार दोषीको पहिचान, अनुसन्धान तथा कारबाहीका लागि आग्रह गरेका छन् ।
धार्मिक तथा साँस्कृतिक विविधताको दृष्टिले धेरै ठूलो महत्व राख्ने आफ्नो गृहजिल्ला र मुलुककै आर्थिक तथा औद्योगिक नगरी वीरगञ्जमा भएको सो घटनाक्रमपछि आफूले निरन्तर स्थानीय तथा प्रहरी प्रशासनका अधिकारीहरूसँग सम्पर्क गरी विकसित घटनाक्रमबारे जानकारी लिइरहेको पनि उनले जानकारी दिए । वीरगञ्जमा विकसित तनावलाई साम्य पारी जनजीवनलाई सहज तुल्याउन मन्त्री गुप्ताले सबै पक्षसँग आग्रह समेत गरेका छन् ।
आपसी सद्भाव समाज र देशकै शक्ति भएकाले त्यसलाई कुनै पनि बहानामा भङ्ग गर्ने कार्य दुःखद र चिन्ताजनक भएको उल्लेख गर्दै उनले एकअर्काको धार्मिक विश्वास एवम् आस्थाप्रति सम्मान गर्नु नागरिकको पनि दायित्व भएको र यसमा सबै वीरगञ्जवासी सजग हुनुपर्नेमा जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया