काठमाडौं । वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आह्वानमा विभिन्न अभियानी संघ संस्थाहरूको आन्दोलनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ऐक्यबद्धता जनाएका छन् ।
बिहीबार शान्ति बाटिका पुगी पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष महतोले सहकारी पीडित, लघुवित्तबाट ठगिएका गरिब जनता, बैंकिङ धोखाधडीका शिकार परिवार एवं अन्यायको आगोमा जलिरहेको बताए ।
उनले भने, ‘देशका हरेक तप्काका जनता असन्तुष्ट छन्, काठमाडौंको हरेक सडक आन्दोलित छन् । अब पापको घडा भरीसक्यो, कुनै पनि बेला फुट्न सक्छ ।’
‘सहकारी पीडित, वित्तीय तथा लघुवित्त पीडित, बैंक पीडित लगायतका विभिन्न खाले वित्तीय शोषणविरुद्ध न्यायपूर्ण संघर्षलाई अगाडि बढाउन राष्ट्रिय मुक्ति पार्टी, नेपालको एक्यबद्धता छ,’ उनले भने ।
महतोले सरकार अभिभावक हुनुपर्ने तर उल्टो शोषण गरिरहेको आरोप लगाएका हुन् ।
नेपाल सरकार र आयोजक संस्थाहरूबीच समय–समयमा भएका सम्झौताहरू हालसम्म पनि कार्यान्वयन नभएको र सरकारले आलटाल गर्दै पिडीतलाई झनै पीडित बनाउने गतिविधिले सरकार प्रतिको भरोसा दिनप्रतिदिन कम हुँदै गएको बताए ।
‘सरकारले गरेका वाचाहरू पूरा नगर्ने प्रवृतिले नै गर्दा नै सरकार र व्यवस्थाप्रति नागरिकको विश्वास कम हुँदै गएको हो । पीडितहरूको आँसु र रगतले सिँचिएको यो संघर्ष अब “अलपत्र विश्वास” भरमा होइन एकीकृत ढंगले अगाडि बढने छ,’ उनले भने ।
उनले भने, ‘यो नेपालको गरिब जनताको आर्थिक न्यायको लडाइँ हो । न्याय, समानता र आर्थिक शोषणको अन्त्यका लागि हुने यस संघर्षमा सम्पूर्ण नागरिक समाज, अभियानी समूह तथा पीडित वर्ग एकजुट भई आन्दोलनलाई सफल र परिणाममुखी बनाउन साथ र सहयोग गर्नुपर्छ ।’
विगत २ वर्षदेखि सहकारी एवं बित्त पीडितहरु संघर्षरत रहदै आएका छन् ।
तपाईको प्रतिक्रिया