पहलगाम आतंकवादी आक्रमणको राष्ट्रिय मुक्ति पार्टीद्वारा घोर भर्त्सना

समाचार

काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार भएको आतंकी आक्रमणको राष्ट्रिय मुक्ति पार्टी नेपालले घोर भर्त्सना गरेको छ ।

रामुपाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले प्रेस विज्ञप्ति जारी गर्दै सो आक्रमणमा बुटवल निवासी नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जना पर्यटकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त कुकृत्यको घोर भत्र्सना गरेका छन् ।

महतोद्वारा जारी विज्ञप्तिमा दिवंगतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “आतंकवादको कुनै जात, धर्म वा राष्ट्रियता हुँदैन। यसले सम्पूर्ण मानव सभ्यतालाई समाप्त पार्ने प्रयास गर्ने हुँदा यस्तो घृणित कार्यलाई कहिल्यै स्वीकार गर्न सकिंदैन।”

राष्ट्रिय मुक्ति पार्टी नेपालले यस्ता आपराधिक घटनाबाट विचलित नभई भारत सरकारले दृढतापूर्वक अगाडि बढ्नुपर्ने उल्लेख गर्दै भारतको दुखद क्षणमा नेपाली जनताको तर्फबाट एकता र ऐक्यबद्धताको सन्देश दिएको छ ।

महतोले आतंकवादविरुद्ध सम्पूर्ण विश्व समुदाय एकताबद्ध भएर लड्नुपर्ने आवश्यकता औंल्याउँदै यस्तो अमानवीय कृत्यको पूर्ण अन्त्यका लागि ठोस कदम चालिनुपर्ने मागसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ