काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको सामाजिक सुरक्षा कोषमा महत्वपूर्ण बुँदाहरु समेटिएको छ ।
श्रममन्त्री शरत्सिंह भण्डारीको विशेष पहलमा दूरगामी नीति तथा कार्यक्रमहरु समेटिएको हो ।
यस्ता छन् महत्वपूर्ण बुँदाहरु:
१. बुँदा नं. ११.
एकीकृत सामाजिक सुरक्षाको अवधारणालाई थप सुदृढ गर्दै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमहरूबिच समन्वय गरिनेछ । सामाजिक सुरक्षा कोष सुदृढीकरण रणनीति कार्यान्वयन गरिनेछ ।
२. बुँदा नं. ५७.
श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिनेछ । इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गरिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ ।
३. बुँदा नं. ६१.
सबै प्रकृतिका, जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नहरूलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी कोषको भूमिका र दायरालाई विस्तार गरिनेछ ।कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सङ्गठित संस्थाको नवीकरण गर्दा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइ नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानुनी व्यवस्था गरिनेछ ।
४. बुँदा नं. ९२.
बीमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराईने अत्यावश्यक औषधिहरू बीमा प्रणालीमा जोडिनेछ। छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरी स्रोतको अभावलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष लगायत सबै स्वास्थ्य सेवा र उपचार सुविधा दिने संस्थाहरूको सेवा प्रभावकारी बनाइनेछ ।
तपाईको प्रतिक्रिया