‘सीता प्राकट्य दिवस समारोह’ सम्पन्न

समाचार

काठमाडौँ । मिथिला संस्कृति समाज, नेपालको आयोजनामा ‘सीता प्राकट्य दिवस समारोह २०८२’ सम्पन्न भएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मिथिला संस्कृतिको संरक्षण र संवद्र्धन सबैको दायित्व रहेको बताएका छन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासले सीता मातालाई आदर्श नारीका रूपमा चित्रित गरेकाले सबैमा आदर भाव हुनुपर्नेमा जोड दिए ।

उनले भने, “सीताप्रति हाम्रो आदर भाव त्यही बेला सार्थक हुन्छ जब हामी मिथिलाको संस्कृति र महिमाको पुनर्जागरण गर्छौं ।” उनले मिथिला र बौद्ध संस्कृतिलाई जोड्न सीता–सिद्धार्थ खण्डका रूपमा हुलाकी मार्गको सम्बन्धित खण्डको विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने बताए ।

मिथिला संस्कृति समाज नेपालका कार्यक्रम संयोजक अमितकुमार दासले हरेक वर्ष यस अवसरमा ‘सीता माता’ को महिमासम्बन्धी चर्चा परिचर्चा, विचार–मन्थन तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै आइरहेको बताए ।

सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस)की ललितपुर संवाददाता अर्चना झा र काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश मोना सिंहलाई ‘सीता’ उपाधिसहित सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ