जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीति तीन ध्रुवमा धु्रविकृत हुँदै गएको बताएका छन् ।
जसपा नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अग्रगामी, यथास्थितिवादी र पश्चगामी गरि तीन ध्रुवमा राजनीतिक विभाजन भएको बताए ।
उनले अग्रगामी शक्ति जनआन्दोलन, सशस्त्र विद्रोह र मधेश आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समावेशीता, नागरिक स्वतन्त्रता र मौलिकहकको रक्षाका लागि दृढ रहे पनि यथास्थितिबादीहरु लोकतान्त्रिक मुल्य मान्यतालाई स्वीकार्य गरे पनि संघीयता र समावेशीतालाई पचाउन नसकेको जिकीर गरे ।
पछिल्लो समयमा पश्चगामी शक्तिहरु समेत टाउको उठाउन थालेको भन्दै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा , समावेशिता र नागरिक स्वतन्त्रताको पक्षमा चट्टानी अडानका साथ जसपालाई उभिनु पर्ने अवस्था आएको बताए ।
राजनीतिक खिचातानीका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भएपनि समानता, भागेदारी र समानुपातिक प्रतिनिधित्वको समस्या अझै कायम रहेको बताए ।
अग्रगामी शक्तिहरु कमजोर हुँदा यथास्थितिबादी र पश्चगामी शक्तिहरु प्राप्त उपलब्धिलाई संकटमा पार्ने दुस्साहस गर्न थालेको भन्दै उनले त्यस्तो दुश्प्रयासलाई आफुहरु सफल हुन नदिने समेत बताए ।
तपाईको प्रतिक्रिया