वन सम्बद्र्धन प्रणालीबाट समुहलाई प्रशस्त मात्रामा आम्दानी भएको छ : डिभिजनल वन अधिकृत सुवेदी

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख तथा डिभिजनल वन अधिकृत विजय राज सुवेदीले जिल्लामा वन सम्बद्र्धन प्रणाली लागु भएपछि समुहलाई प्रशस्त मात्रामा आम्दानी भइरहेको बताएका छन् ।

उनले सामुदायिक वन उपभोक्ता समितिको अवलोकन कार्यक्रममा उमेर पुगेका रूख कटान र तिनको स्थानमा नयाँ बिरुवा उमार्ने प्रक्रिया वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन भएको जानकारी गराउँदै सो कुरा बताएका हुन् ।

प्रमुख सुवेदीले जिल्लाको ८९ वटा समुहमा कार्ययोजना बनेको मध्ये ८७ वटा समुहमा योजना लागुभएको र त्यसबाट ५ लाख ५० हजार क्यूफिट काठ उत्पादन हुने अनुमान गरिएकोमा १ लाख ४० हजार क्यूफिट उत्पादन भइसकेको रेर्कडले देखाएको उल्लेख गरे ।

प्रमुख सुवेदी भन्छन्, ‘बाँकी काठ सबै घाटगद्धिमा आइसकेको छ । त्यसको विवरण मात्र आउन बाँकी छ । वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन लागु गरेपछि वन राम्रो हुन्छ । पुराना धोदरा रुखहरु काटिएर त्यस ठाउँमा नयाँ विरुवा उम्रिरहेको छ र त्यो पछि गएर राम्रो वन हुन्छ । वन पैदावर संकलन गर्ने, कटान मछान गर्ने, विक्रिवितरण गर्ने प्रक्रियामा प्रशस्त मात्रामा रोजगारी सिर्जना गरेको छ । मान्छेले काम पाएका छन् । काठ विक्रिवितरणबाट समुहलाई प्रशस्त आम्दानी भएको छ ।’

उनले ठाकुरबाबा नगरपालिका वडा नं. ५ अन्तर्गत रहेको चन्दक चटिया महिला सामुदायिक वनको उदाहरण दिँदै भने, ‘१ सय सवा सय हेक्टर वनले वर्षमा डेढ दुई करोड आम्दानी गर्न सक्ने अवस्था छ । त्यो पैसा भनेको ठुलो पैसा हो एउटा वनमा हरेक वर्ष डेढ दुई करोड आउनु ठुलो पैसा हो । त्यसको २५ प्रतिशत प्रदेश सरकारलाई जान्छ । बाँकी बचेको पैसाले गाउँको विकासमा लगानी गर्न सकिन्छ । वन सम्बद्र्धन प्रणालीले चौतर्फि विकास गर्न मद्धत गर्छ । वन सम्र्बद्धन नगरेमा सवै अवसरहरु गुमेरजान्छ । बर्दियामा हाल २ सय ८२ सामुदायिक वन छन् । धेरै सामुदायिक वन उपभोक्तहरु हामीले गरेको कामप्रति सकारात्मक हुनुहुन्छ ।’

चन्दक चटिया महिला सामुदयिक वन उपभोक्ता समितिको अध्यक्ष राजरानी थारुले समेत वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन लागु गरेपछि वन राम्रो भएको र उपभोक्ताहरुलाई राम्रो आम्दानी भएको सुनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ