वैदेशिक रोजगारबाट फर्केर स्वदेशमा उद्यम गरिरहेकालाई सम्मान तथा पुरस्कार

समाचार

काठमाडौं । वैदेशिक रोजगारबाट स्वदेश फर्की नेपालमा उद्यम गरी बसेका उद्यमी, व्यवसायीहरुलाई राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

मंगलबार सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री शरतसिंह भण्डारी र मन्त्रालयका सचिव डा.कृष्णहरि पुस्करले संयुक्तरुपमा सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

सातै प्रदेशबाट एक–एक जना र देशभरिबाटै एक जना उत्कृष्ट गरी आठजनालाई राष्ट्रिय उद्यम पुरस्कार वितरण गरिएको हो । सातै प्रदेशका एक–एक जना उद्यमीलाई ७५,०००।– को दरले र एक जना उत्कृष्ट उद्यमीलवाई १,५०,०००।– राशीसहित सम्मान गरिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन् । उनले वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरी बसेका उद्यमी, व्यवसायीहरुलाई राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको आर्थिक गतिविधिको आधार मान्दै आएको बताउँदै वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवद्र्धन गर्ने कुरालाई ध्यान दिएर आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा मनाउने निर्णय गरिएको बताए ।

रोजगारको आवश्यकताअनुसारको सीपको व्यवस्था गर्न निजी क्षेत्रलाई समेत समेटेर सरकार अघि बढेको जानकारी दिए ।

मन्त्री भण्डारीले विदेशबाट फर्किएका नागरिकको सीप र पुँजीलाई प्रयोग गरेर देशलाई समृद्ध बनाउनेतर्फ सरकार अघि बढेको बताए ।

यस्तै, श्रम सचिव डा.पुस्करले वैदेशिक रोजगारी पलायन नभई एउटा अवसर रहेको बताएका छन् । उनले स्वेच्छिक वैदेशिक रोजगार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड रहेको समेत जिकिर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ